काठमाडाैं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।
समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् पशुपतिशमशेर जबराकाे अध्यक्षतामा जेठ १६ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिने निर्णय गरेकाे थियाे ।
साे अवधिमा कार्की विरुद्ध २९ वटा उजुरी परेकाे बताइएकाे छ । उजुरीकर्तासँग छलफल, उजुरीमाथि छानबिन र त्यसमाथि कार्कीको जवाफ दिएपछि मात्र समितिले साेही आधारमा प्रधानन्यायाधीशमा कार्कीकाे नाम अनुमाेदन गर्नेछ । त्यसपछि राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ ।
तर न्याय परिषद् सचिवालयले आइतबार कार्कीलाई पत्र पठाउँदै ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएकाे छ । सुनुवाइकाे सबै प्रक्रिया पूरा गर्दा प्रधानन्यायाधीश नियुक्त नहुँदै कार्कीले अनिवार्य अवकाश पाउन सक्ने सम्भावना बढेकाे छ ।
वैशाख २५ गते बसेकाे संवैधानिक परिषद्काे बैठकले उहाँलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । कार्कीले नै कामु प्रधानन्यायाधीशका रुपमा साे जिम्मेवारी सम्हाल्दै आउनुभएकाे छ ।
