काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशकाे अर्थतन्त्रका समस्यालाई सम्बाेधन गर्नेगरी बजेट ल्याइएकाे दाबी गर्नुभएकाे छ ।
सांसद्हरुले बजेटमाथि उठाएका प्रश्नकाे साेमबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्याहरू एकै चरणमा समाधान गर्न नसकिने कुरा स्वीकार गरी बजेट प्रस्तुत गरिएकाे बताउनुभयाे ।
बजेटमा विपक्षी दलका नेताले २ घण्टा टिप्पणीका गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने दाबी समेत उहाँले गर्नुभयाे । 'विपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले ३ घण्टाको बजेट प्रस्तुतिमा उहाँले करिब २ घण्टाको टिप्पणी राख्नुभयो, यसबाट के महशुस गरेका छु भने, बजेटमा केही महत्वपूर्ण कुरा छन्, केही नयाँ कुरा अघि बढाउन कोशिस गरेको छ, हाेइन भने विपक्षी दलकाे नेता उभिएर २ घण्टा टिप्पणी गर्नुहुँदैनथियाे भन्ने लागेको छ'- अर्थमन्त्री महतले बताउनुभयाे ।
बजेट प्रस्तुत गर्ने बेला नै आफूले कठिन परिस्थितिमा बजेट ल्याएकाे बताएकाे उहाँले बताउनुभयाे । बजेट उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेमा केन्द्रित रहेको दाबी मन्त्री महतले गर्नुभयाे ।
लक्षित उद्देश्यसहित नाराहरु राखिएकाे भन्दै अर्थमन्त्री महत करकाे दरलाई समग्रमा राजश्व वृद्धि र अर्थतन्त्रलाई चलायमान गराउनेगरी बजेट ल्याइएकाे बताउनुभयाे ।
धेरै अगाडिदेखि थुप्राे लागेका समस्या रहेका भन्दै उहाँले एकैपटक समाधान गर्न नसकिने बताउनुभयाे । चरणबद्ध रुपमा समस्याहरु हटाउँदै जाने भन्दै उहाँले आफूले बजेट सुधार र कार्यान्वयनकाे प्रस्ताव राखेकाे दाबी मन्त्री महतले गर्नुभयाे ।
