काठमाडाैं । 'विनियोजन विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले साे प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले साे प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्मकाे समय छलफलका लागि तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराउनुभयाे ।
त्यसअघि विनियाेजन विधेयकमाथि सैदान्तिक छलफल भएकाे थियाे । छलफलमा भाग लिँदै नेकपा एमालेका गोकर्ण विष्टले विनियाेजन विधेयक अन्यायपूर्ण र विभेदपूर्ण रहेकाे बताउनुभयाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बजेटप्रति पार्टीको असहमति रहेकाे र यसमा सुधारको खाँचो रहेकाे बताउनुभयाे ।
एकीकृत समाजवादीका सांसद् अम्बरबहादुर थापाले विनियाेजन विधेयकले वर्तमान समस्या सम्बोधन गर्न नसक्ने बताउनुभयाे । जसपाकी रञ्जुकुमारी झाले गरिबीकाे रेखामुनिका जनतालाई माथि उठाउने विषयमा विनियाेजनले ध्यान नदिएकाे बताउनुभयाे ।
नेपाली कांग्रेसका सांसद् विश्वप्रकाश शर्माले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयाे । नेमकिपाका प्रेम सुवालले बजेट बनाउँदा विश्वविद्यालयको राय परामर्श लिएको भए न्यायपूर्ण हुने बताउनुभयाे ।
साे प्रस्तावमाथि सांसद्ले उठाएकाे प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री महतले बजेट विनियोजन गर्दा जनताको जीवनस्तर उकास्ने, समृद्धि प्रदान गर्ने, रोजगारी सिर्जना गर्ने विषयलाई दृष्टिगत गरेर बजेट तर्जुमा गरिएको दाबी गर्नुभयाे ।
आजै बसेकाे प्रतिनिधि सभाकाे पहिलाे बैठकमा साे विधेयक पेस भएकाे थियाे । विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले विराेधकाे सूचना पेस गर्नुभएकाे थियाे । बैठकले विराेधकाे सूचनालाई बहुमतले अस्वीकृत गरेकाे थियाे ।
पहिलाे बैठकमा अर्थमन्त्री महतले बजेटमाथि सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिनुभएकाे थियाे । प्रतिनिधि सभामा जेठ २१ गतेदेखि बजेटमाथि छलफल सुरु भएकाेमा जेठ २८ गते सांसद्ले बाेल्ने क्रम सकिएकाे थियाे । अर्थमन्त्रीलाई जवाफ दिनका लागि आजकाे समय ताेकिएकाे थियाे ।
