काठमाडाैं । निर्वाचन आयोगले वैदेशिक रोजगारीमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने भएकाे छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयाेगले वैदेशिक रोजगारीका लागि धेरै नेपाली रहेका देशहरुमा साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्नेछ ।
साेमबार बसेकाे राष्ट्रिय सभाकाे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै नेपाली कार्यरत दुबई, मलेसिया, कोरिया लगायत देशबाट मतदाता नामावली संकलन थालिने जानकारी दिनुभयाे । सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारीमार्फत नै मतदाता नामावली संकलन गरिनेछ ।
बैठकमा आयाेगका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारकाे प्रस्तावमाथि पनि छलफल भएकाे थियाे । छलफलका क्रममा उहाँले सरकारकाे याे प्रस्ताव अव्यवहारिक र संविधान प्रतिकूल रहेकाे बताउनुभएकाे थियाे ।
समितिले यस विषयमा गृह मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेकाे छ ।
