काठमाडाैं । निर्वाचन आयाेगका जिल्ला कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकाे बैठकले आयाेगका जिल्ला कार्यालय खारेज गरी प्रशासन कार्यालयमा इकाई राख्ने प्रस्तावलाई पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको हाे । निर्वाचन आयोगसँग परामर्श गरी साे निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिइएकाे समिति सभापति दिलकुमारी रावलले जानकारी दिनुभयाे ।
संविधान अनुसार आयोगलाई आफ्नो काम कर्तव्य पूरा गर्नका लागि र निर्वाचन स्वतन्त्र, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गराउन आवश्यक सहयोग गर्नका लागि पनि सरकारलाई निर्देशन दिइएकाे उहाँले बताउनुभयो । सुरक्षा लगायत अन्य विषयमा पुनः बैठक बसेर सरकारलाई आवश्यक निर्देशन दिइने सभापति रावलले जानकारी दिनुभयाे ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्वाचन कार्यालय खारेज गर्ने मनशाय सरकारको नभएको बताउनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइ रहने घोषणा बजेट वक्तव्यमार्फत गर्नुभएकाे थियाे । साे विषयलाई लिएर सरकारकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । यस विषयमा निर्वाचन आयाेगसँग छलफल गरेकाे समितिले बुधबार गृहमन्त्रीसँग पनि छलफल गरेकाे हाे ।
