काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले उजुरीकर्ताहरूसँग छलफल गरेकाे छ । उजुरीकर्ताहरूसँगकाे छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बिहीबार बोलाउने निर्णय गरेकाे हाे ।
केही उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले जननिर्वाचित प्रतिनिधि संस्थाको बैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले उजुरीकर्ताको छलफलपछि कार्कीलाई सुनुवाईका लागि बोलाउने निर्णय गरिएको बताउनुभयो ।
त्यसअघि बैठकमा उजुरीकर्ताहरुको छलफलका क्रममा विवाद भएको थियो । उजुरीकर्तामध्ये केहीले सामूहिक रुपमा नै समितिमा जान पाउनुपर्ने माग राखेका थिए भने केहीले समितिको वैधानिकतामाथि नै प्रश्न उठाएका थिए । कार्की विरुद्ध २९ वटा उजुरी परेका थिए ।
बिहीबार सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरेमा राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।
वैशाख २५ गते बसेकाे संवैधानिक परिषद्काे बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । कार्कीले नै कामु प्रधानन्यायाधीशका रुपमा साे जिम्मेवारी सम्हाल्दै आउनुभएकाे छ ।
६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
