काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोधमा कूटनीतिक नोट पठाउन सरकारसँग माग गरेकाे छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद् रघुजी पन्तले नेपालको भूभाग समेटेको अखण्ड भारतको नक्साको विरोधमा नेपाल सरकारलाई तत्काल कूटनीतिक नोट पठाउन माग गर्नुभयाे । उहाँले त्याे नाेट पठाइएकाे कुरा सदनलाई जानकारी गराउन समेत उहाँले माग गर्नुभयाे ।
हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे कुरा नगरेकाेमा असन्तुष्टि जनाउँदै सांसद् पन्तले देशकाे प्रधानमन्त्री भारतमै पुगेकाे बेला कुरा गर्न नसक्नु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिने अभिव्यक्ति दिनु र नेपालकाे संसद्मा यस्ताे बाेलिन भनेर ढाट्नु आपत्तिजनक रहेकाे पनि उहाँले बताउनुभयाे ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीतिमा खलबल आउन लागेको देखिएको भन्दै उहाँले आपत्ति जनाउनुभयाे । भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै सांसद् पन्तले भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले महांकालमा गएर पूजा गएको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले विचारमा पनि गेरुबस्त्र धारण गरेकाे बताउनुभयाे ।
