काठमाडाैं । स्वतन्त्र सांसद् डा. अमरेश कुमार सिंहले गेरुवस्त्रधारी अहिलेकाे सरकारले देश लुटिरहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् सिंहले आलु-प्याजमा भ्याट लगाएर सरकारले गाैरवशाली काम गरेकाे भन्दै व्यंग्य गर्नुभयाे ।
विशेषगरी मधेशका मुस्लिम समुदायले खसी पालेर आफ्नाे जिविका चलाउने गरेकाे स्मरण गराउँदै उहाँले अहिलेकाे सरकारले गरिब किसानले बाख्रा-खसी नपालाेस् भन्ने नीति लिएकाे बताउनुभयाे ।
सांसद् सिंहले सर्लाहीमा एउटा डीएसपीले खसी माग्दा गरिबले नदिएपछि त्याे डीएसपीले ती गरिबका ४२ वटा खसी चाेरी-पैठारी भन्दै भन्सारमा बुझाइदिएकाे भन्दै आपत्ति जनाउनुभयाे । यसबारे गाउँपालिकाकाे सिफारिस लिएर जाँदा डीएसपीले च्यातेकाे भन्दै उहाँले ती डीएसपीलाई कारबाही गर्न माग गर्नुभयाे । त्यस घटनाबारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइसकेकाे भन्दै सांसद् सिंहले सभामुखबाट पनि रुलिङ हुनुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले जनजाति, दलित र मुस्लिमहरुलाई सिध्याउने प्रण गरेकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे गेरुवस्त्रधारी सरकारकाे क्लियर प्लान छ दलित र मुस्लिम बस्न पाउँनुहुँदैन, त्यसैले मन्त्रिमण्डलमा दलित मुस्लिमलाई मन्त्री बनाइएकाे छैन ।'
गेरुवा वस्त्रकाे नशामा जनतालाई दु:ख दिन नपाइने चेतावनी समेत सांसद् सिंहले बताउनुभयाे । 'याे सरकार जेपनि गरेपनि छुट छ भन्दै लागेकाे छ, बजेट लुटेपनि छुट छ भनेकाे छ, ४ जनाले बजेट लुटेकाे छ हामी संसद् माैन छाैं, दिनडाहाडै आत्मदाह गरिराखेकाे हुन्छ जनता, तर सरकार गेरुवा वस्त्र धारण गरेर मन्दिर मन्दिर हिँडेकाे छ, प्रधानमन्त्रीले जनजाति, दलित, मुस्लिम उनीहरुलाई सिध्याउने प्रण गर्नुभएकाे छ'- उहाँले भन्नुभयाे ।
सांसद् सिंहले सरकारलाई हाेसमा आउन र जनतालाई दु:ख नदिन पनि चेतावनी दिनुभयाे । 'गेरुवा वस्त्रधाररुरुपी सरकार समयमा हाेसमा आउनुस्,जनतालाई धेरै दु:ख नदिनुस्, बजेट लुटेर आफूहरु ३-४ कराेडकाे पजेराे, हेलिकाेप्टर र प्लेन चढ्ने ? गरिब जनतालाई याे देशमा बस्न नदिने, यसकाे विराेधमा उठेकाे आगाेले याे सरकार भष्म हुनेछ, जुन गेरुवस्त्र लगाएर सत्ता लम्बाउन खाेज्नुभयाे, त्यहि वस्त्रबाटै तपाइँ भष्म हुनुहुनेछ'- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डका कारण मुस्लिममाथि अत्याचार बढेकाे बताउँदै सांसद् सिंहले भन्नुभयाे - 'तपाइँले जुन दिनदेखि गेरुवावस्त्र धारण गर्नुभएकाे छ त्याे दिनदेखि मुस्लिममाथि अत्याचार बढेकाे छ ।' आफ्नै देशमा भएकाे उत्पादन र सामान आफ्नै देशभित्र बेच्न नपाउने अवस्था रहेकाे भन्दै उहाँले यस विषयमा कुरा गर्दा प्रधानमन्त्री माैन बसेकाे उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्ड देश र गरिबकाे प्रधानमन्त्री नभएर धनीकाे प्रधानमन्त्री भएकाे सांसद् सिंहले बताउनुभयाे । 'उहाँले के भन्नुहुन्छ भने म गरिबका लागि हाेइन, म त विशाल ग्रुपका लागि बनेकाे हाे जसकाे कर छुट गरिदिएँ, आईसीटीसीका लागि बनेकाे छु जसकाे चुराेटकाे ट्याक्स कम लगाएँ'- उहाँले भन्नुभयाे ।
वर्तमान सरकारकै कारण जनताहरु आत्मदाह गर्न वाध्य भएकाे सांसद् सिंहले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एउटा व्यवसायीले यहीँ बानेश्वरमा आत्मदाह गर्दा एउटा नेपाली व्यवसायीकाे मृत्यु भएकाे छ, अर्काे नेपाली नागरिकताका लागि आत्मदाह गर्ने अवस्थामा पुगेकाे छ, याे सरकार आत्मदाह गराउनका लागि बनेकाे हाे ? अरु सरकारका पालामा नहुने यही सरकारका पालामा हुने ? किनकी याे सरकार जतिले आत्मदाह गरेपनि राेम जलिरहेछ निराे बाँसुरी बजाइरहेकाे छ, प्रधानमन्त्री त पजेराेमा हिँडिरहनुभएकाे छ, उहाँकाे वरिपरिकाे मान्छेले भ्रष्टाचार गरिरहेकाे छ ।'
गेरुवस्तधारी सरकारकाे मन्त्रिमण्ड देश लुट्न मस्त रहेकाे र विचार र कर्तव्यबाट च्यूत भएकाे बताउनुभयाे । सरकारले केही दिनका लागि मुख्यसचिव नियुक्त गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
