काठमाडाैं । जनमत पार्टीका सांसद् अब्दुल खानले नागरिकताबिहीन नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न सरकार र न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् खानले नागरिकताबिहीन नागरिककाे आवाज सरकारले नसुनेकाे बताउनुभयाे ।
नागरिकता माग्दै एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै उहाँले नागरिकताका विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिने भन्दै प्रश्न गर्नुभयाे । 'नागरिकताबाट वञ्चितहरूले विभिन्न जिल्ला र काठमाडाैंकाे माइतीघरमा आत्महत्याको कोसिस गरिरहेका छन्, यो एक-दुई दिनभित्र रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्नेछन्, त्यसकाे जिम्मेवारी कसले लिने ? नेपाल सरकारले लिने कि न्यायालयले ?'- सांसद् खानकाे प्रश्न छ ।
नागरिकताकाे विषयमा तिमी कुटेजस्ताे गर म राेएजस्ताे गर्छु भन्ने नीति सरकार र न्यायलयले लिएकाे भन्दै उहाँले याे मनाेवृत्ति कहिलेसम्म रहने भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने सांसद् खानले माग गर्नुभयाे । नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखेट्न उहाँले सरकारलाई चेतावनी दिनुभयाे । 'भाेलि सामूहिक रुपमा आत्मदाह भयाे भने यसकाे जिम्मेवारी कसले लिने ? के नागरिकता माग्नु अपराध हो ? हामी नेपाली हाैं हामीलाई हाम्राे देशकाे नागरिकता चाहिएकाे छ भन्नु अपराध हो भने हामीलाई गोली हानेर भगाउनुस्, कि त हामीलाई नागरिकता दिनुस्'-खानकाे चेतावनी छ ।
सांसद रेखा यादवले नागरिकता विधेयकसम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण दिनुपर्ने भन्दै उहाँले आफ्ना देशमा बस्ने नागरिकलाई अनागरिक बनाउन नहुने बताउनुभयाे ।
