काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले प्रतिनिधि सभामा बजेटको नाममा ठट्टा भइरहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले बजेट कुनै जोक नभएको बताउनुभयो । ‘हामी बजेटको नाममा के यहाँ ठट्टा गरिरहेका छौँ ? युवा तथा खेलकुद मन्त्रालयको बजेटले त त्यही भन्छ त’, उहाँले भन्नुभयो ।
कूल १५ लाख पुँजीगत खर्च हुने मन्त्रालयको संस्थागत चालु खर्च ६ करोड ९ लाख राखिएको भन्दै कार्कीले आलोचना गर्नुभयो । यो बजेट हास्यास्पद भएको उहाँले बताउनुभयो ।
निराशा र असफलता बिच क्रिकेट खेलले समाजमा आशा र उत्साह जगाउन सफल भएको उहाँले बताउनुभयो । तर बजेट हेर्दा ती खेलाडीले त्यो उपहार दिनु गलत भएको प्रतीत हुने कार्कीको भनाइ छ ।
नेपालमा बन्द प्रशिक्षणलाई सरकारले व्यवस्थित गर्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । अन्तर्राष्ट्रिय खेलको तयारीको लागि सरकारले छुट्याएको बजेट अति निराशाजनक भएको उहाँले बताउनुभयो ।
विभिन्न नेताहरूको नाममा खोलिएका प्रतिष्ठानको नाममा तजबिजी बजेट बाँडेको भदै उहाँले आलोचना गर्नुभयो । यस्ता संस्थाको नाममा किन बजेट विनियोजन गरिन्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
