काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेटमा भेदभाव र पक्षपात भएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा बाेल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतकाे जिल्लामा मात्रै ५१ प्रतिशत बजेट छुट्याएकाेमा आपत्ति जनाउनुभयाे ।
अध्यक्ष केसीले ५१ प्रतिशत बजेट ३ जनाकाे भागमा र बाँकी बजेट मात्र अरु सांसद्काे निर्वाचन क्षेत्रमा पार्ने हाे भने बजेटमाथि छलफलकाे औचित्य नभएकाे बताउनुभयाे । '५१ प्रतिशत बजेट ३ जनाकाे भागमा, बाँकी अरु बजेट अन्य सांसद्काे क्षेत्रमा, यस्ताे भेदभाव, यस्ताे पक्षपात, यस्ताे बजेटमाथि छलफल गर्नुकाे औचित्य छ ?'- उहाँकाे प्रश्न छ ।
प्रधानमन्त्रीको गृह जिल्ला गोरखा, पूर्व प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृह जिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै उहाँले ती क्षेत्रकाे बजेट कटौती गर्न माग गर्नुभयो । आफ्नो जिल्ला र क्षेत्रमा बजेट पार्न मन्त्रीकहाँ जानुपर्ने अवस्था दुखद् भएको केसीले बताउनुभयो । 'खर्च कटौती गर्ने हो भने, गोरखा, डडेल्धुरा र नुवाकोटको बजेट कटौती गर्नुपर्छ, अरु बाँकीले के भन्न जाने आफ्नाे क्षेत्रमा ? बजेट बन्नुअघि सांसद्हरुकाे मुख्य काम मन्त्रालय मन्त्रालयमा, मन्त्रीहरुकाे ढाेकामा विन्तिभाव गरेर हेर्नुस् त राष्ट्रिय धनमाथि'- अध्यक्ष केसीले भन्नुभयाे ।
जसको हातमा डाडु पनियाे छ उसैले मनपरी गर्ने भएपछि कसरी देशकाे सन्तुलित विकास हुन्छ भन्दै उहाँले प्रश्न गर्नुभयाे । अध्यक्ष केसीले विद्यमान संरचना महिला र ज्येष्ठ नागरिकमैत्री नभएको र यस संरचनाबाट सन्तुलित विकास नहुने बताउनुभयाे । अध्यक्ष केसीले नेपालमा सबभन्दा बिजोग ज्येष्ठ नागरिकको रहेको बताउनुभयाे । महिलालाई अहिले पनि दाेस्राे तहमा रहेका भन्दै उहाँले सरकारले संरक्षण गरेका दलालले नेपाली चेलीकाे विचल्ली बनाएकाे बताउनुभयाे ।
