काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले सरकारको नीति, कार्यक्रम र बजेटले मेल नखाएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले नीति र कार्यक्रम लयमा नै आएको भए पनि बजेटसम्म आइपुग्दा त्यसले लय छाडेको बताउनुभयो । ‘नीति कार्यक्रमसम्म यसले ठिकै लय समातेको थियो, जब बजेट, कार्यक्रम, विनियोजन तिर हामी प्रवेश गर्यौँ, यसले आफ्नाे लय बिराएकै छ’, उहाँले भन्नुभयो ।
बजेट निर्माणको प्रक्रियामा नीति कार्यक्रमलाई आत्मसाथ गर्न नसकिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘बरालिएको छ, लय बिराएको छ र यसले मूल त संघीयताको मर्मलाई दरोसँग आत्मसाथ गर्न सकेको छैन’, उहाँले भन्नुभयो ।
नीति, कार्यक्रम र बजेट भन्न बित्तिकै बाटोमा कति बजेट पर्यो भनेर ठाडा कान लगाने प्रचलन रहेको उहाँले बताउनुभयो । त्यसमा सुधार गर्नुपर्नेमा सापकोटाले जोड दिनुभयो ।
