काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले सरकारले मधेशलाई बेवास्ता गरेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद् यादवले बजेटमा मधेशलाई विभेद गरिएको बताउनुभयाे ।
सत्तापक्षकै सांसद्ले बजेट असन्तुलित र समावेशी भनेर भनिसकेका भन्दै उहाँले मधेशलाई सरकारले सौतेनी आमाको जस्तो व्यवहार गरेको बताउनुभयाे । 'म प्रधानमन्त्रीजीलाई मन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हाे ? मधेशलाई किन सौतेनी आमाको छोराजस्तो व्यवहार गरेको ? बजेटकाे समग्रतामा हेर्ने हाे भने मधेशलाई उपेक्षा गरिएकाे छ, विभेद गरिएको छ,यस्ताे भयाे भने हामी याे देशकाे समृद्धि र समग्र विकासकाे परिकल्पना कसरी गर्न सकिन्छ'- सांसद् यादवले भन्नुभयाे ।
मधेशकाे जनसंख्या बढेकाे भन्दै उहाँले जनसंख्यालाई उपेक्षा गरेर कसरी विकासकाे सपना पूरा गर्न सकिन्छ भन्ने प्रश्न गर्नुभयाे । सिरहामा बजेट नछुट्याइएकाेमा सांसद् यादवले आपत्ति जनाउनुभयाे । यस्ताे प्रकारकाे विभेदले देश अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयाे ।
महिला मन्त्रालयमा समेत पुरुष मन्त्री बनाउने सरकारले महिलालाई हेर्ने दृष्टिकाेण कस्ताे छ भन्ने पुष्टि भएको समेत सांसद् यालवले बताउनुभयाे । महिलाहरुलाई मूलधारमा नल्याइ समग्र समाजकाे विकास हुनै नसक्ने उहाँले बताउनुभयाे । महिला र मधेशकाे अवस्था उस्तै भएका उहाँकाे भनाइ थियाे ।
वन मन्त्रालय आफ्नै पार्टीका नेता मन्त्री रहेको भन्दै सांसद् यादवले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नै नपरेकोमा आपत्ति जनाउनुभयाे । चुरे देश र मधेकाे लाइफलाइन भएकाे भन्दै उहाँले चुरेमा गडबड भए मधेश मरुभूमिकरण हुने बताउनुभयाे । चुरेमा आँखा नलगाउन सरकारलाई आग्रह गर्दै उहाँले चुरेमा कुनै गतिविधि भए राेक्न वनमन्त्रीलाई आग्रह गर्नुभयाे । 'हाम्रै पार्टीको वन मन्त्रालय छ, विनियोजनमा हेर्दा समग्रमा मधेश उपेक्षित छ, त्यसमा सिराहा जिल्ला उपेक्षित छ, मेरो क्षेत्रमा त एउटा पनि कार्यक्रम छैन, विराेध गराैं भने कसरी विरोध गरौं, नगरौं भने मलाई भोट दिने जनतालाई के भन्ने बडो द्विविधामा छु, धर्मसंकटमा छु ।'
युवाहरु नागरिकता नपाएर आत्मदाह गर्ने अवस्थामा पुगेकाे भन्दै उहाँले सरकारकाे व्यवहारले कतै यसका लागि उत्प्रेरित गरिरहेकाे त छैन भन्ने आशंका उब्जिएकाे बताउनुभयाे । उच्छृंखल गतिविधि गर्ने, प्राध्यापकलाई कालाेमाेसाे दल्ने, जे पायाे त्यही नारा लगाउने प्रवृत्ति बढेकाे भन्दै उहाँले यसलाई राेक्न जरुरी रहेकाे बताउनुभयाे । नेपाली समाजलाई बचाउने हाे भने सबै जिम्मेवार बन्न जरुरी रहेकाे सांसद् यादवले बताउनुभयाे ।
