काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् दामाेदर भण्डारीले नेपालकाे उद्याेग, वाणिज्य र आपूर्ति क्षेत्र तहसनहस अवस्थामा रहेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनधि सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद् भण्डारीले सरकारले यस क्षेत्रलाई कुनै प्राथमिकता नदिएकाे बताउनुभयाे ।
देशकाे आर्थिक अवस्था भयावह रहेका बेला सरकारले उद्याेग क्षेत्रलाई कुनै प्राथमिकता नदिएकाले यस मन्त्रालयकाे शीर्षककाे खर्च कटाैतीकाे प्रस्ताव राखेकाे उहाँले बताउनुभयाे ।
भएका उद्योग बन्द हुने स्थिति रहेकाे तर ती उद्याेग सञ्चालनका लागि सरकारको ठोस योजना नै नभएकाे भण्डारीले बताउनुभयाे । राेजगारी सृजनाका लागि उद्याेग धन्दा कलकारखाना आजकाे आवश्यकता भएकाे बताउँदै सांसद् भण्डारीले भन्नुभयाे - 'तर सरकार याे दिशातर्फ उन्मुख छैन, भएका उद्याेगहरु बन्द हुने स्थिति छ, तर सरकारकाे ठाेस याेजना र प्रस्ताव देखिँदैन ।'
केपी शर्मा ओली नेतृत्वकाे सरकारले सातै प्रदेशमा उद्याेग औद्याेगिक क्षेत्र स्थापना गर्ने भनेर बजेट विनयाेजन गरेर काम थालेपनि ती अहिले ठप्प रहेका उहाँले बताउनुभयाे । सांसद् भण्डारीले भन्नुभयाे - 'सुदूरपश्चिमकाे दैजीछेला, नेपालगञ्जकाे नाैवास्ता, रुपन्देहीकाे माेतीपुर, चितवनकाे शक्तिखाेर, मकवानपुरकाे मयुरधाम औद्याेगिक क्षेत्र र झापाकाे औद्याेगिक पार्क जुन अवस्थामा थिए, आज पनि त्यही अवस्थामा रहेका छन् ।'
उद्याेगकाे प्रवर्द्धन र लगानीमैत्री वातावरण सृजना गर्नका लागि कानुन आवश्यक रहेकाे भन्दै उहाँले उद्याेग मन्त्रालयलाई सरकारले पूर्ण बेवास्ता गरेकाे र त्यसका लागि कुनै ठाेस नीति कार्यक्रम र याेजना आउन नसकेकाे बताउनुभयाे । सांसद् आयल निगमजस्ताे समेत गठनादेशबाट सञ्जालन भइरहेकाे बताउनुभयाे । आयल निगमबाट सञ्चालित एलपी ग्यास आधारभूत वर्गका जनता र ठूला घरानाका मान्छेले पनि समान मूल्यमा पाइरहेका बताउनुभयाे ।
नेपालले व्यापार असन्तुलन गरिरहेका बेला उत्पादित वस्तु र सेवा गुम्दै गएकाे सांसद् भण्डारीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'देशकाे अर्थतन्त्र भयावह अवस्थामा पुगेकाे, सञ्चालनमा रहेका उद्याेग समेत बन्द गर्नुपर्ने स्थिति छ, उद्याेगहरु आक्राेशित भएका छन्, बैंककाे व्याज बृद्धि भएर सञ्चालित उद्याेग बन्द गर्नुपर्ने स्थिति छ, कच्चा पदार्थकाे कहिँ खाेजी भएकाे छैन, खानीजन्य थुप्रै ठाउँ छन्, खानी विभाग जनशक्तिबिहीन छ, थुप्रै खानी उत्खनन्काे पर्खाइमा छन्, तर सरकारकाे ठाेस याेजना छैन ।'
मल कारखानाका लागि बैतडी जिल्लामा फस्फाेराइट खानीकाे पूर्ववर्ती सरकारले सम्भाव्यत अध्ययन गरेकाे स्मरण गराउँदै उहाँले तर याे सरकारले बजेटमा यसकाे नाम समेत उच्चारण नगरेकाे बताउनुभयाे । खानीकाे उत्खनन् बिना नेपालकाे समृद्धि हासिल हुन र राेजगारी सृजना हुन नसक्ने सांसद् भण्डारीले बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका भारतसँगकाे चुलिँदाे व्यापार घाटाबारे कुनै कुरा नगरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । किसानले आफ्नाे उत्पादले बजार नपाएर किसान पीडित हुनुपरेकाे अवस्था रहेकाे बताउनुभयाे ।
सरकार उल्टाे दिशातर्फ उन्मुख भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'आज सरकार उल्टाे दिशातर्फ उन्मुख छ, पछिल्लाे तथ्यांकले के देखाउँछ भने करिब २२ लाख बढी युवा श्रमकाे खाेजीमा विदेशिएका छन्, हामी वस्तु आयात गरिरहेका छाैं, शक्ति निर्यात गरिरहेका छाैं, याे एउटा भयावह तस्विर हाम्राे अगाडि देखिएकाे छ, याे सबैभन्दा चुनाैतीपूर्ण रहेकाे छ ।' युवालाई स्वदेशमै राेक्ने विषयमा कुनै ठाेस प्रस्ताव आउन नसकेकाे सांसद् भण्डारीले बताउनुभयाे ।
नेपाली कांग्रेस नेतृत्वकाे सरकारले विगतमा कैयाैं उद्याेग कमिशनकाे भरमा निजीकरण गरेकाे स्मरण गर्दै उहाँले रुग्ण उद्याेगहरु थन्किएर बसेका बताउनुभयाे । ती उद्याेग सञ्चालन गर्ने कुनै याेजना सरकारले बजेटमा नल्याएकाे भन्दै सांसद् भण्डारीले बुटवल धागाे उद्याेग र हेटाैंडा कपडा उद्याेग मात्र सञ्चालन गर्ने प्रस्ताव सरकारले ल्याएकाे बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'दुईवटा उद्याेगले प्राप्त हुन्छ ? अरु रुग्न, साना मसाैला उद्याेगहरुकाे अवस्था के हुन्छ ?'
