काठमाडाैं । जनमत पार्टीका सांसद् अब्दुल खानले राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृतिअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गर्नुभएकाे छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् खानले राष्ट्रिय परिचयपत्रका लागि फाेटाे खिच्दा महिलाले सिन्दुर पुछ्नुपर्ने र पुरुषले कण्ठी हटाउनुपर्ने नियम हटाउन माग गर्नुभयाे । यस्ता नियमका कारण आमनागरिकले राष्ट्रिय परिचयपत्र बनाउनतर्फ नखाेजेकाे बताउनुभयाे ।
'तराई मधेशका हजारौँ महिला र पुरुषहरूले राष्ट्रिय परिचयपत्र बनाउन इन्कार गरिरहेका छन्, कारण के हो भने, राष्ट्रिय परिचयपत्र बनाउँदा संविधानको धारा २४, २६ र २९ को भावना विपरीत एउटा सांस्कृतिक र धार्मिक मर्यादा विपरीत महिलाहरूले सिन्दुर हटाउनुपर्ने, टाउकोमा राखिएको दुपट्टा हटाउनुपर्ने, पुरुषहरूले कण्ठी हटाउनुपर्ने, टिका हटाउनुपर्ने जस्ता बाध्यकारी नियम राखेर राष्ट्रिय परिचयपत्रको फोटो खिचिन्छ, यस्ताे बाध्यकारी नियम हटाउन म सरकारसँग माग गर्दछु'- उहाँले भन्नुभयाे ।
