काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम शाहले दक्षिण भारतीय चलचित्र 'आदिपुरुष' बारे बाेलेकाे भन्दै काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काे प्रशंसा गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शाहले सरकारले सास दबाएर बसेपछि काेही न काेही बाेल्नैपर्ने विषयमा बालेन बाेलेकाे भन्दै खुशी व्यक्त गर्नुभयाे ।
'चलचित्र आदिपुरुषको सिताको भारतको भन्ने संवादले जुन विवाद भयो, त्यसमा भारतीय निर्माण पक्षले विवादित संवाद काटेर पनि पठायो र सेन्सर पास पनि भयो प्रदर्शनका लागि नेपालमा, तर काठमाडौंका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाइएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएपछि अन्योल छाएको छ, क्यूएफएक्सलगायत सबै हलहरूले सरकारबाट स्पष्टिकरण नआएसम्म चलचित्र प्रदर्शन रोकेर बसेका छन्'- उहाँले भन्नुभयाे ।
दक्षिण छिमेकी भारतबाट बेला-बेला आइरहेका विवादास्पद घटनाले नेपालीको स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरिरहेका भन्दै सांसद् शाहले आपत्ति जनाउनुभयाे । 'आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनिएको छ, कहिले सीता उताको भनिएको छ, कहिले कालापानी-लिम्पियाधुरा हाम्रो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ, हाम्रो इतिहास माथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ की यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर, सरकारले सास दबाएर बसेपछि कोही न कोहीले कुनै न कुनै बेला बोल्नुपर्थ्यो बालेनले बोले सही गरे'- उहाँले भन्नुभयाे ।
परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सांसद् शाहले भन्नुभयाे - 'नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरू भावनात्मक नै किन नहुन सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वभाविक हो ।'
