काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) ले आर्थिक वर्ष ०८०-८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट सरकारले ल्याएकाे नभइ लुटेकाे बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत र भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे क्षेत्रमा धेरै बजेट छुट्याइएकाेतर्फ इंगित गर्दै उहाँले ४ जना यारहरु मिलेर बजेट लुटेकाे बताउनुभयाे । 'यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ, बजेट बनाएको, ल्याएको होइन, बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ, जसरी बैंक लुट्दाखेरी चार यारहरुले बैंक लुटेर लग्छन्, त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन्, बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ, चार यारहरु मिलेर अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रुपमा देखिन्छ'- अध्यक्ष राउतले भन्नुभयाे ।
सरकारले लुट्ने क्रम जारी राखेकाे बताउङ्गदै उहाँले भन्नुभयाे - 'यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ, वैशाखमा बारामा मत पेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ, लुट्ने प्रवृत्ति क्रमिक रुपमा जारी नै छ ।'
अध्यक्ष राउतले बजेटमा राेजगारी सृजना गर्ने र उद्याेगधन्दा खुल्ने कार्यक्रम आउला भन्ने अपेक्षा गरिएपनि सरकारले लुट्ने, याेजनाबिहीन र दृष्टि नै नभएकाे बजेट ल्याएकाे बताउनुभयाे । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने प्रवृत्ति सरकारले देखाएकाे भन्दै उहाँले एक महिनासम्म छलफल गर्दा पनि कमा र फुलिस्टब पनि परिवर्तन नहुने बजेटमा छलफल गर्न कुनै उत्साह नगरेकाे बताउनुभयाे ।
बजेट निर्माण गर्दा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्री तथा भाैतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाकाे क्षेत्रमा मात्रै धेरै बजेट छुट्याइएकाे भन्दै आपत्ति जनाउनुभयाे । बजेटमा मधेशलाई विभेद गरिएकाे भन्दै अध्यक्ष राउतले आपत्ति जनाउनुभयाे ।
बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरु कार्यान्वयन नहुने गरेको भन्दै उहाँले भन्नुभयाे - 'समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसद्माथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ, सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरुमा पात्रता देखिँदैन, संसदमा शुन्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलव गरिँदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरुले भनेकै छन् ।'
