काठमाडाैं । नेपाली कांग्रेसका सांसद् श्यामकुमार घिमिरेले बजेटमा विभेद गरिएकाेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्राेश व्यक्त गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद् घिमिरेले जसकाे शक्ति उसकाे भक्ति भनेजसरी बजेट विनियाेजन गरिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै उहाँले सो भूमिकाको अवमूल्यन नगर्न समेत चेतावनी दिनुभयाे । 'प्रधानमन्त्रीज्यू, तपाइँलाई प्रधानमन्त्री बनाउन हाम्रा पनि मत जाहेर भएका छन्, तपाइँकाे सरकारबाट यस्ताे अपेक्षा गरिएकाे थिएन, तपाइँलाई लागेकाे हाेला पार्टीकाे समर्थन भएपछि पुग्छ, तर विगतको इतिहास हेर्नुभएकै छ, आफ्नै बहुमतको सरकार असफल बनाइदिएको, पार्टी फुटेको, पार्टीभित्रै पनि चरम गुटबन्दी मौलाएको, हेक्का रहोस् यो गठबन्धको सरकार हो, स्मरण रहाेस्,जनप्रतिनिधिकाे हैसियतले याे मुलुककाे बजेटमाथि हाम्राे पनि अधिकार छ'-घिमिरेले भन्नुभयाे
यही विभेद सहन एउटा गठबन्धन ताेडेर अर्काे गठबन्धनमा छिरेकाे हाे भन्दै उहाँले पार्टी नेतृत्वलाई प्रश्न गर्नुभयाे । कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्तै सांसद्हरुको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने चेतावनी सांसद् घिमिरेले दिनुभयाे । 'म हाम्राे पार्टीका नेतालाई पनि भन्न चाहान्छु- के यसैका लागि एउटा गठबन्धन ताेडेर अर्काे गठबन्धनमा हामी छिरेका थियाैं, यसमा तपाइँहरुकाे भूमिका हुनुपर्दैन ? कांग्रेस ठूलो पार्टी हुनमा हाम्राे पनि त भूमिका हाेला नि ? तर पार्टीपनि जाेगाउने हाे भने अब यसरी चल्दैन, एउटा सानाे कुराका लागि लागि मन्त्रालयमा मन्त्री, सचिव, सहसचिव र अधिकृतका पछि कुद्दा कुद्दा सांसद्को जुत्ताको तलुवा खिइन्छ, स्वाभिमान भन्ने कतै रहँदैन, तर हात लाग्याे शून्य, अब त अति भयाे मेरा पार्टीका नेताहरु बाेल्ने कि नबाेल्ने ?'- उहाँकाे प्रश्न छ ।
राजधानीकाे नजिक भएपनि आफ्नाे क्षेत्रमा बजेट नपरेकाे भन्दै सांसद् घिमिरेले प्रधानमन्त्री, मन्त्री र पार्टी सभापति सबैलाई सच्चिन चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे - 'यस्तै अवस्था चलिरहने हाे भने संसद्मा हाम्राे उपस्थितिकाे कुनै औचित्य छैन, भाेटिङका दिन बाेलाउँदा हुन्छ ।'
आवश्यक भएकाे ठाउँमा बजेट नभएकाे र भएपनि अपुग राखिएकाे भन्दै उहाँले कहिँ आवश्यकतै नभएका र नसुनेका ठाउँमा पनि बजेट छुट्याइएकाे सांसद् घिमिरेले बताउनुभयाे । 'कहिँ बेस्सरी हाल्देकाे छ, कहिँ केही पनि छैन, म पनि सत्तारुढ दलकै सांसद् हूँ तर पनि याे विभेद किन भइरहेकाे छ मैले बुझेकाे छैन, गठबन्धनभित्रै पनि पार्टीगत पार्टीभित्र पनि गुटगत गुटभित्र पनि उपगुट, अब याे विभेदले हामीलाई कहाँ पुर्याउँछ ? यस्ताे अभ्यासलाई माथि हाेइन ओरालाे लाग्न उत्प्रेरित गर्छ'- उहाँले भन्नुभयाे ।
अतिले खति निम्त्याउने चेतावनी दिँदै सांसद् घिमिरेले बजेटमा नेता, मन्त्री र शक्तिशालीहरुकाे पहुँच स्पष्ट रुपमा प्रतिबिम्बित भएकाे र कतिपय क्षेत्रलाई बजेट विनियाेजनमा रित्तै बनाइएकाेमा आपत्ति जनाउनुभयाे । 'तपाइँहरू हामीजस्ता सांसद्हरू धेरैले चुनाव जितेर आएकै कारण प्रधानमन्त्री, मन्त्री हुनुभएको हो, तपाइँहरू एक्लै जितेको भरले आज याे स्थानमा पुग्नुभएको होइन, त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफू मात्रै चुनाव जितेर आउछु भन्ने साेच त्याग्न आग्रह गर्छु'- उहाले भन्नुभयाे ।
एउटा सांसद्काे सरकार बनाउने, नीति निर्माण र कानुन बनाउने, बजेट निर्माण गर्ने र आफ्नो निर्वाचन क्षेत्रका मतदाताप्रतिको दायित्व हुने चार भूमिका हुने भन्दै उहाँले यी चारै विषयमा हाम्रो भूमिका कहाँ छ ? भन्दै प्रश्न गर्नुभयाे । गठबन्धन राजनीतिले सांसद्काे भूमिका फेरिएकाे बताउँदै सांसद् घिमिरेले भन्नुभयाे - 'नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानुन, नीति र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने र ५० घण्टा भाषण सुन्ने र ५ मिनेट भाषण गर्ने हाम्राे काम त्यत्ति हाे, के जनताको अपेक्षा हामीसँग के यति मात्रै हो ?'
बजेटमा संशाेधन नगर्ने भनेर संविधानमा कतै व्यवस्था नभएकाे भन्दै उहाँले कमा र फुलिस्टब पनि परिवर्तन नगर्ने हाे भने पेस गरेकै दिन बजेट पास गरे हुने भन्दै कटाक्ष गर्नुभयाे । बजेट विनियाेजन गर्ने समयमा संघ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताको सांसद्काे तलुवा खिइएकाे तर हात लाग्याे शून्य भएकाे भन्दै सांसद् घिमिरे आपत्ति जनाउनुभयाे ।
पर्यटनमन्त्री सुदन किरातीले ५० अर्बकाे सञ्चित घाटामा रहेकाे कम्पनीलाई नाफा देखाएर थप ऋणमा जहाज किनेर अर्काे काण्डकाे कीर्तिमान खडा गर्न खाेजेकाे समेत सांसद् घिमिरेलले बताउनुभयाे । सरकारले लिएकाे ऋण तिर्न नसकेका बेला सरकारकाे जमानत बसेर ऋण लिएर जहाज किन्ने याेजना राेक्न उहाँले आग्रह गर्नुभयाे ।
विद्यालय र विश्वविद्यालय चलाउन नसक्ने सरकारले व्यापार गरेर खान नसक्ने समेत उहाँले बताउनुभयाे ।
