काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले बजेटलाई लिएर सत्तापक्ष नै विभाजन भएकाे बताउनुभयाे ।
केही सत्तापक्ष सांसद्ले प्रतिपक्षीको भन्दा पनि बढी रुवाबासी देखिएको र बजेटमा पहुँज पुग्ने सत्तापक्ष खुशी भएका उहाँले बताउनुभयाे । अध्यक्ष लिङ्देनले भन्नुभयाे - 'छलफलमा सत्ता पक्षले समर्थन गर्ने र विपक्षले विरोध गर्ने, अन्तत्वगत्वा कमा, फुलिष्टव पनि चेञ्ज नहुने, जे छ ताकि ठोक्ने अगाडि बढने भन्ने कुरा आइराखेको थियो, सत्तापक्षीय साथीहरुको पनि दुईटा प्रवृत्ति देखियो, एकथरी साथीहरुको हाम्रो भन्दा बढी रुवाबासी, बजेटमा पहुँच पुर्याउने सत्तापक्षको यो बजेट सबैभन्दा सुन्दर छ भन्ने ।'
बजेट बनाउने क्रममा विकसित भइरहेकाे प्रवृत्ति खतरनाक रहेकाे अध्यक्ष लिङ्देनले बताउनुभयाे । बजेट बनाउँदा देखिएको प्रवृतिले अहिलेको व्यवस्थालाई नै कमजोर बनाउने उहाँले बताउनुभयाे । केन्द्रबाट बाटोका लागि छुट्याइएको रकम एक-लाख दुई भएपनि हुने प्रवृति देखिएको भन्दै अध्यक्ष लिङ्देनले यस्तो कनिका छर्ने बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ? भन्दै प्रश्न गर्नुभयो ।
'केन्द्रबाट बाटाेका लागि छुट्याइएकाे बजे १-२ लाख हुने यही हाे त तपाइँहरुले ल्याउनुभएकाे संघीयता ? २० किलोमिटर बाटोको लागि ७० लाख रुपैयाँ, ५ लाख रुपैयाँ, २ लाख रुपैयाँ पनि छुट्टयाउनु भएको छ, १ लाख पनि छुट्टयाउनु भएको छ, यस्ताे बुद्धि मन्त्रीजीलाई कसले दियाे ? यस्ताे कनिका छर्ने ज्ञान कहाँबाट आयाे ? सचिवले दिएकाे ज्ञान हाे, पार्टीले दिएकाे ज्ञान हाे कि ? आफैंलाई आएकाे ज्ञान हाे कि ?'- उहाँले प्रश्न गर्नुभयाे ।
अहिलेको प्रवृतिलाई सुधार गर्ने कुनै संकेत नदेखिएको र कुनै आवरणले ढाकछोप गरेर नहुने अध्यक्ष लिङ्देनले बताउनुभयाे । 'खास गरेर हामीले भ्रष्टाचारको विरोध गर्याे भने सत्तापक्षले तिम्राे पालामा थिएन, तिम्राहरुले गरेका थिएनन् भनेर भन्ने, अस्ति बाटाे बनेकाे थियाे त अहिले बनेकाे छ, यसरी ढाकछाेप गरेर जानुहुँदैन, सुधार गरेर जानुपर्छ अस्ती भएन भनेर अहिले नगर्न पाइन्न, अस्ती अरुले चाेरेका थिए भनेर हामीले चाेर्न पाइन्न, हामी कसैले प्रतिपक्षले वा सत्तापक्षले गलत कुरा औल्यायाे भने त्यो पछाडि फर्कन खाेजेकाे अर्थ लगाएर ढाकछाेप गर्न भएन ।'
सिलिङ घटेका बेला सिलिङ किन घटाउनुपर्याे भनेर उहाँले प्रश्न गर्नुभयाे । याेजना छनाेटकाे प्रकिया र प्राथमिकता पनि स्पष्ट नभएकाे अध्यक्ष लिङ्देनले बताउनुभयाे ।
छलफल गरिएका तीनै मन्त्रालय महत्वपूर्ण रहेका उहाँले बताउनुभयाे । भूमिसुधार भ्रष्टाचारकाे सबैभन्दा ठूले अखडा बनेकाे भन्दै उहाँले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयाे ।
