काठमाडाैं । नेपाली कांग्रेसका सांसद् सञ्जयकुमार गाैतमले संसद्प्रति जिम्मेवार हुन सरकारलाई आग्रह गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सांसद्ले उठाएका कुरालाई गम्भीरतापूर्वक लिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
जिल्लाकाे विकासका लागि सत्याग्रहमा बसेकाे भन्दै सांसद् गाैतमले फेरि सत्याग्रहमा बस्ने अवस्था नआओस् भन्नेतर्फ सचेत गराउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकार संसद्प्रति जिम्मेवार बनाेस् भन्ने म चाहान्थेँ, म पुलकाे तल किन बसे भन्दा याे देशकाे विकास कस्ताे छ भनेर भन्न चाहान्थेँ, हाम्राे जीवनकाे यथार्थलाई सत्याग्रहकाे माध्यमबाट भन्न वाध्य भएँ, मैले फेरि सत्याग्रह गर्न पनि नपराेस्, मैलेजस्ताे सत्याग्रह अरु सांसद्ले पनि गर्न नपराेस्,कमशेकम सांसद्ले उठाएका कुरालाई गम्भीरतापूर्वक लियाेस्, सम्बाेधन गर्ने प्रयास गराेस्,संसद्बाट पनि नभएर मान्छेले विद्राेह गर्छ, हामी सबैलाई त्याे बाटाेमा जान मजबुर नगराेस् ।'
कतिपय क्रमागत याेजना, डीपीआर गरेका र आधा काम भएका याेजना काटिएका भन्दै सांसद् गाैतमले आपत्ति जनाउनुभयाे । कनिका छरेजस्तो प्रभावकारी नहुने आयोजना छनोट गरेर बजेट विनियोजन गरेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो । कपास विकास समिति खारेज नगर्न समेत सांसद् गाैतमले सरकारलाई आग्रह गर्नुभयो ।
