काठमाडाैं । नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले १ लाख भूमिहिनलाई जग्गाधनी पूर्जा बाँड्ने याेजना बजेटमा किन नराखिएकाे भन्दै प्रश्न उठाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले कम्तिमा १ लाख भूमिहीनलाई पूर्जा दिनुपर्ने बताउनुभयाे ।
'१७ महिनामा राष्ट्रिय भूमि आयाेगले जम्मा २ देखि ३ हजार पूर्जा बाँड्याे, याे वर्षकाे बजेट काँहीपनि आँखा नघुमाइ भूमि आयाेगलाई सहयाेग गर्ने, ११० स्थानीय तहमा मात्र हाेइन, कम्तिमा ७५३ मध्ये ३०० स्थानीय तहमा २५ हजार हाेइन १ लाख पूर्जा बाँड्ने याेजना किन राख्न सकिएन ?'- सांसद् सुब्बाकाे प्रश्न छ ।
सरकारले राष्ट्रिय भूमि आयोगमार्फत १ सय १० वटा स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने घाेषणा बजेटमा गरेकाे छ ।
चुनावका बेला गरिबलाई पूर्जा दिने र जमिन दिने कुरा गर्ने र सांसद् तथा मन्त्री भएपछि बिर्सिने प्रवृत्ति देखिएकाे भन्दै उहाँले यसले याे समस्या समाधान नहुने बताउनुभयाे । एउटा पालिकामा सरदरमा २२७ जना बढीले पूर्जा र जमिन नपाउने भन्दै सांसद् सुब्बाले भूमिहीनलाई पूर्जा बाँड्ने याेजनालाई परिमार्जन गर्न भूमिमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
मन्त्रालय अन्तर्गतकाे भूमि आयाेगले अहिले के गरिरहेकाे छ भन्ने प्रश्न समेत उहाँले उठाउनुभयाे । 'मन्त्रालय अन्तर्गतकाे भूमि आयाेगले ७७ जिल्लामा के गर्दैछ ? ७५३ स्थानीय तहमा सहजीकरण समिति बनाएर के गर्दैछ ?'- सांसद् सुब्बाकाे प्रश्न छ ।
जमिनकाे कित्ताकाट खाेल्ने निर्णयले भूउपयाेग याेजना बनाउने कुरालाई अप्ठेराे पार्ने समेत उहाँले बताउनुभयाे । प्रधानमन्त्री र मन्त्रीहरुकाे क्षेत्रमा धेरै बजेट छुट्याइएकाे भन्दै सांसद् सुब्बाले आपत्ति जनाउनुभएकाे छ ।
