काठमाडाैं । नेपाली कांग्रेसका सांसद् दिपक खड्काले संखुवासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लामा आएकाे बाढीपहिरोबाट पीडित भएकालाई तत्काल उद्धार, राहत, क्षतिपूर्ति व्यवस्था मिलाउन माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् खड्काले अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोले ती जिल्ला ठूलाे जनधनकाे क्षति भएकाे जानकारी दिनुभयाे । उहाँले तत्काल राहत, उद्धार र क्षतिपूर्तिका लागि सरकारलाई रुलिङ गर्न सभामुखसँग माग समेत गर्नुभयाे ।
उहाँले भन्नुभयाे -'संखुवासभा, तेह्रथुम र पाँचथर लगायत पूर्वी पहाडी जिल्लामा गएराति अविरल वर्षाका कारण ठूलाे धनजनकाे क्षति भएकाे छ, संखुवासभामा सुपर हेवामा काम गर्ने १६ जना मजदूर वेपत्ता भएकाे, ३ जना घाइते र १ जना घाइते अवस्थामा फेला परेकाे छ, यसबाहेक पनि मानिसहरु हराइरहेकाे सूचना आएकाे छ'- उहाँले भन्नुभयाे ।
उद्दारमा गएका सुरक्षाकर्मी राजनीतिकर्मी घटनास्थलमा पुगिनसकेकाे अवस्था रहेकाे सांसद् खड्काले बताउनुभयाे । उहाँले वेपत्ताहरुकाे खाेजीका लागि थप उद्दारकर्मी परिचालन गर्न पनि माग गर्नुभयाे । सांसद् खड्काले भन्नुभयाे - 'सुपरहेवा, मेञ्छेम जस्ता थुप्रै हाइड्राे पावर पूर्ण रुपले क्षति भएकाे, ३ वटा पक्की पुल र एउटा झाेलुंगे पुल बगाएकाे र खर्बाैंकाे क्षति भएकाे आँकडा आएकाे छ, बगरमा रहेका सम्पूर्ण खेतबाली नष्ट भएकाे छ, ११ घर बगाएकाे छ, यस उद्धार कार्यलाई सहयोग पुर्याईदिन र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति र राहत उपलब्ध गराई दिन म विनम्र आग्रह गर्न चाहन्छु ।'
