काठमाडाैं । नेकपा एमालेकी सांसद् दीपा शर्माले बढी-पहिरो र बढ्दो तापक्रमप्रति सरकार गम्भीर नभएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शर्माले बाढीपहिराेले पूर्वमा ठूलाे क्षति पुर्याउँदा र गर्मीले तराईकाे जनजीवन प्रभावित बन्दा पनि सरकारले चासाे नदिएकाे बताउनुभयाे ।
उहाँले यी घटनालाई बेवास्ता गर्दै निदाइरहेको सरकारलाई उठ्नका लागि आग्रह गर्नुभयाे । 'सरकार कता निदाइरहेकाे छ ? म सरकारलाई उठ्न आग्रह गर्छु, पूर्वमा बाढीपहिराेले त्यत्राे धनजनकाे क्षति भएकाे सदनलाई जानकारी दिनुपर्ने, पश्चिममा गर्मी भएर आम नागरिक तड्पिनुपर्ने अवस्था छ, याे सरकारलाई घामपानी थाहा छैन ?'- सांसद् शर्माकाे प्रश्न छ ।
अत्यधिक गर्मीकाे पीडा खेपिरहेका बेला बाँकेमा २-३ महिनादेखि विद्युत् अवरुद्ध भएकाे आमनागरिकले दुःख ब्यहोर्नुपरेको भन्दै उहाँले विद्युत नियमित गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सांसद् शर्माले भन्नुभयाे - 'विद्युत् अवरुद्ध हुँदा याे गर्मीमा आम नागरिकले दु:ख ब्यहाेर्नुपरेकाे छ, कलकारखानाहरू बन्द हुने अवस्था छ, विद्यार्थीहरू विद्यालय जान नसक्ने अवस्था आएर विद्यालय बन्द गरिएका छन्, यसप्रति सरकारले ध्यान देहाेस् ।'
