काठमाडौं । सांसद् दुर्गा राईले नेपाली युवाहरु युक्रेनी र रुसी सेनामा भर्ती भइरहेकाे विषयमा स्पष्ट पार्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् राईले नेपाली युवाहरू युक्रेनी र रुसी सेनामा भर्ती भएकाे समाचारहरु आइरहेकाले यसबारे सरकारले सत्यतथ्य जानकारी गराउनुपर्ने माग गर्नुभयाे ।
युक्रेनमाथि आक्रमण रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रुससँग माग गर्दै संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित गरेकाे र साे प्रस्तावमा नेपालसहित १ सय ४१ देशले युक्रेनको पक्षमा मत दिएको उहाँले स्मरण गराउनुभयाे ।
एकातिर नेपालले युक्रेनको पक्षमा मत दिने र अर्कोतर्फ नेपाली युवाहरू रुसी सेनामा भाडाको सिपाहीको रूपमा काम गरिरहेको समाचार आउनुकाे वास्तविकता जानकारी गराउन सांसद् राईले माग गर्नुभयाे । 'नेपाली युवाहरू युक्रेनी र रुसी सेनामा भर्ती भई कार्यरत रहेको कुरा समाचारहरू आइरहेका छन्, त्यो सत्य हो भने, एकातिर नेपालले युक्रेनको पक्षमा मत दिने अर्कोतर्फ रुसी सेनामा नेपाली युवाहरू भाडाको सिपाहीको रूपमा काम गरिरहेको समाचार आउनु वास्तविकता के हो ? सरकारसँग माग गर्दछु'- उहाँले भन्नुभयाे ।
सन २०२२ फेब्रुअरी २४ बाट सुरु भएकाे रुस-युक्रेन युद्ध कहिले टुगिंने निश्चित नभएकाे र १५ महिना लामो युद्धमा रुसतर्फ सैनिक र युक्रेनतर्फ सैनिक तथा गैर सैनिक गरी करिब ६० हजार बढीको निधन भइसकेकाे सांसद् राईले बताउनुभयाे । गैरसरकारी १५ हजार बढीको ज्यान गएको पनि सांसद् राईले बताउनुभयाे ।
नेपाली युवाहरु रुसी सेनामा भर्ती भएकाे विषय सम्बन्धी समाचार केही दिनअघि नेपाल प्रेस अनलाइनमा प्रकाशित भएकाे थियाे । सांसद् राईले साे विषयमा सत्यतथ्य जानकारी गराउन ध्यानाकर्षण गराउनुभएकाे हाे ।
