काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कोसी प्रदेशका पहाडी जिल्लामा बाढीले क्षति पुर्याएका भौतिक पूर्वाधार पुनर्निर्माण काम सुरु भइसकेको बताउनुभएको छ ।
गए राति आएको बाढीका कारण अवरुद्ध सडक र पुल निर्माणको काम आजैबाट सुरु हुने ज्वालाले बताउनुभयो । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्वालाले पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथर लगायतका जिल्लमा भएको भौतिक संरचनाको क्षतिको बारेमा संसद्लाई जानकारी गराउनुभएको थियो ।
उहाँले बाढी पहिरोको कारण ५० करोड बढीको पुल र सडक क्षति भएको बताउनुभयो । यस बाहेक विभिन्न जलविद्युत आयोजना र मानवीय क्षति समेत भएको उहाँले जानकारी दिनुभयो ।
बाढीले भत्काएको हेवा खोलाको पुलको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुवात गरेको उहाँले जानकारी दिनुभयो । बढीमा १० दिनभित्रमा बेलीब्रिज जोडिसक्ने उहाँले बताउनुभयो ।
उनले बाढीको कारण क्षति भएका सडक खुलाउन सडक डिभिजन कार्यालय, यान्त्रिक कार्यालय लगायतका विभिन्न कार्यालयहरू लागि सकेका जानकारी दिनुभयो । ‘बाढीको कारण क्षति भएका, विभिन्न स्थानमा अवरुद्ध भएका सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर कोरिडोर योजना कार्यालय र मध्य पहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिइसकेको छ’, उहाँले भन्नुभयो ।
बेलीब्रिज नबनेसम्म जमिनको सतहबाट नै डाइभर्सनको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको उहाँले बताउनुभयो । गए रातिको वर्षाले पूर्व पहाडका सडक क्षति विक्षत बनाएको छ ।
