काठमाडाैं । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार जनताकाे स्वास्थ्यप्रति संवेदनशील नरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा 'विनियोजन विधेयक, २०८० अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले जनस्वास्थ्यका विषयमा संवेदनशील नरहेकाे बताउनुभयाे ।
सांसद् श्रेष्ठले भन्नुभयाे - 'हालै भएकाे सम्मेलनमा स्वाथ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेत सहभागी भइ सुर्तीजन्य पदार्थमा क्रमश: ७५ प्रतिशत बढी कर बढाउने प्रतिबद्धता जनाउनुभएकाे, तर लगत्तै प्रस्तुत बजेटमा यस विषयमा उदारता देखाएर सरकारले जनस्वास्थ्यमा संवेदनशील छैन भन्ने प्रष्ट गरेकाे छ, अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ठाडै भुलेकाे छ ।'
सुर्तीजन्य भारतमा श्रीलंकाले ७७ र भारतले ५७ प्रतिशत कर लिने भन्दै उहाँले नेपालले ३३ प्रतिशत मात्रै कर लगाएर जनस्वास्थ्यमा खेलवाड गरेकाे उहाँले बताउनुभयाे ।
काेभिड-१९ जस्तै भविष्यमा आउन सक्ने विविध प्रकारकाे महामारी, कुनै पनि प्रकारकाे सरुवा राेगकाे नियन्त्रण, डेंगुबाट नागरिककाे रक्षा, खाेपकाे सर्वसुलभता लगायत विषयमा पूर्वतयारी, संरचनागत व्यवस्था तथा जनशक्ति र उपकरणकाे प्रबन्ध गर्नुपर्ने विषयमा सरकारकाे ध्यान नगएकाे श्रेष्ठले बताउनुभयाे ।
नसर्ने राेग बढ्दै गएकाे भन्दै उहाँले यसका लागि प्रत्येक प्रदेशमा मुटु, मृगाैला, फाेक्साे, कलेजाे, क्यानसर, मानसिक राेगहरुकाे उपचार र राेगथामका लागि विशिष्कृत अस्पताल निर्माण गर्ने कुरा बजेटमा नआएकाे बताउनुभयाे ।
संविधानकाे धारा ३५ मा रहेकाे स्वास्थ्य सम्बन्धी माैलिक हककाे कार्यान्वयनमा याे बजेटले उल्लेख्य याेगदान गर्न नसक्ने भएकाले आफूले खर्च कटाैतीकाे प्रस्ताव राखेकाे सांसद् श्रेष्ठले बताउनुभयाे ।
सरकारकाे नीति तथा कार्यक्रम र बजेटकाे तालमेल नभएकाे उहाँले बताउनुभयाे । एमाले नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा सुरु गरेको कामलाई वर्तमान बजेटले उपेक्षा गरेको सांसद् श्रेष्ठले बताउनुभयो । उहाले यस वर्ष स्वास्थ्य क्षेत्रमा निकै कम बजेट बिनियोजन गरेको भन्दै उहाँले आमनागरिकको स्वास्थ्य सेवाको अधिकारलाई स्थापित गर्न समस्या हुने जिकिर गर्नुभयो ।
