काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुमाथिको जारी छलफल रहनेछ ।
आजकाे बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा रास्वपाकी सांसद् सुमना श्रेष्ठले 'विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।
एमालेका सांसद् दामोदर पौडेल (बैरागी) ले 'विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँकायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा एमालेका सांसद् दिपा शर्माले 'विनियोजन विधेयक, २०८० अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
एमालेका सांसद् गाेकर्ण विष्टले 'विनियोजन विधेयक, २०८० अन्तर्गत उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले 'विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
स्वतन्त्र सांसद् प्रभु साहले 'विनियोजन विधेयक, २०८० अन्तर्गत उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभामा अहिलेसम्म ९ वटा मन्त्रालयकाे छलफल सकिएकाे छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएकाे थियाे ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि छुट्याइएको बजेट शीर्षकमा छलफल भएको थियाे । बिहीबार पहिलो दिन वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो ।
प्रदेशको नामको सट्टा अंक उल्लेख भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल असार ८ गतेका लागि तोकिएको छ । युवा तथा खेलकुदमन्त्री विदेश भ्रमणमा रहेको मन्त्रालयको बजेट छलफलमा ल्याएको भन्दै असार ५ गतेका लागि छलफल ताेकिएकाे छ । सहरी विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम समावेश भएको पुस्तक प्राप्त नभएपछि साे मन्त्रालयकाे बजेटमा पनि असार ५ गते छलफल हुनेछ ।
