काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले सुनसरीमा मकैको व्यावसायिक उत्पादन सुरु भएकोले मकै जोन घोषणा गर्न माग गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै आचार्यले सुनसरीको खेतीमा प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिको समेत अभाव भएको बताउँदै आचार्यले सो कार्यालयमा स्रोत, साधन सहितको जनशक्तिको व्यवस्था मिलाउन माग गर्नुभयो । दसौँ हेक्टर जमिनमा मकै खेती सुरु भएकाले जोन स्थापना गर्न उहाँले माग गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत देशभर १ सय ७७ वटा जोन रहेकामा सुनसरीमा धान, तरकारी, माछा, बङ्गुर, अदुवा र बेसार जोन भए पनि मकै जोन नभएको उहाँले जानकारी दिनुभयो । ‘केही वर्षदेखि सुनसरीको दसौँ हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो ।
किसानलाई प्रविधि, भौतिक, आर्थिकका साथै विभिन्न ठाउँमा आवश्यक उपकरण बिक्री केन्द्र, शीत भण्डार, प्रशोधन उद्योगलगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । यसको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, साधनको व्यवस्थापन गर्न उहाँले माग गर्नुभयो ।
