काठमाडाैं । नेकपा एमालेका सांसद् लिलानाथ श्रेष्ठले संघीय संसद्का विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले सरकार गठन भएकाे ५ महिना १६ दिन पुग्दा पनि संसदीय समितिले पूर्णता पाउन नसकेका बताउनुभयाे ।
सांसद्हरुकाे मुख्य काम ऐन-नियम बनाउने भएकाे भन्दै उहाँले समितिका सभापतिहरु चयन हुन नसक्दा ऐन, नियम, कानुन बनाउने काम प्रभावित भएकाे उहाँले बताउनुभयाे ।
सांसद् श्रेष्ठले भन्नुभयाे - 'समिति बन्न लामाे समय लाग्याे, समिति बनेपनि समितिको सभापति चयन भएको छैन, जसले महत्वपूर्ण ऐन, नियम, कानुन बन्न सकेको छैन, आज हामीले राष्ट्रिय निजामती कर्मचारी ऐन बनाउन सकेका छैनाैं, संघीय-प्रदेश प्रहरी ऐन बन्न सकेको छैन, संघीय निजामती शिक्षा ऐन बन्न सकेको छैन, त्यसकारणले आज स्थानीय तह निमित्तले चलाउनु परिरहेको छ, भेटेनरी डाक्टरले, अहेब डाक्टरले, आयुर्वेदकाे डाक्टरले ।'
निमित्तकाे भरमा चल्दा धेरै बेरुजु बढेको बताउँदै उहाँले भन्नुभयाे - 'कानुन, नियम नभएकाले, कर्मचारी नभएकाले स्थानीय तहहरुको बेरुजु बढेको छ, त्यहाँको विकास निर्माणमा अवरोध पुगेको छ ।'
