काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सत्तापक्षले नागरिकता विधेयकलाई सत्ता टिकाउने खेल बनाएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले सत्ता पक्षले नियोजित रूपमा भारतलाई खुसी पार्न र अदालत लगेर अड्काउन पुरानो निष्क्रिय भइसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएको बताउनुभयो । नेपाली बाबु आमाका नेपालमा जन्मिएका छोरा छोरीले नागरिकता पाउनु हुँदैन भन्ने पक्षमा कुनै पनि प्रतिपक्षी दल नभएको उहाँले प्रष्ट पार्नुभयो ।
लिङ्देनले सत्ता पक्षले त्यो बुझिबुझी संसद्मा छलफलमा नै नल्याई विधेयक ल्याएर अदालतमा पुर्याई रोकेर राख्ने काम गरेको बताउनुभयो । ‘आखिरी अदालतले रोकिहाल्छ, कसै न कसैले उजुरी गरिहाल्छ, यो जानाजान गरेको विषय हो’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सुटुक्क सो विधेयक प्रमाणीकरण गर्नुपर्ने कारण के थियो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘अहिले एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? हामीले अदालतमा गएर मुद्दा हालेको हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
भ्रमणको मुखमा भारतलाई खुसी पार्ने र नागरिकता नपाएकालाई पनि हामीले ल्याएकै हौँ भनेर खुसी पार्न विधेयक प्रमाणीकरण गरेको उहाँले बताउनुभयो । सरकारले समस्या समाधान गर्न चाहेको भए संसदमा ल्याएर फास्ट ट्र्याकबाट टुङ्ग्याउन सकिने भए पनि त्यसो नगरेको उहाँले बताउनुभयो । नागरिकता विधेयक सरकारकै कारण समस्यामा परेको उहाँको भनाइ छ ।
