काठमाडाैं । नेकपा एमालेकी सांसद् दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि बजेट नछुट्याइएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा 'विनियोजन विधेयक, २०८० अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद् शर्माले ती क्षेत्रमा बजेट किन नछुट्याएकाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले ती क्षेत्रमा बजेट नछुट्याउनुले सरकारमाथि शंका उब्जिएकाे समेत बताउनुभयाे ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएकाे नक्सा संसद्बाट पारित भएर संविधानकाे अंग बनिसकेकाे स्मरण गराउँदै सांसद् शर्माले नेपालकाे त्याे भूमिप्रति अहिलेकाे सरकारले किन चासाे नदिएकाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सीमा संरक्षण गर्न सरकारले किन बजेट छुट्टयाएको छैन ? त्यहाँका नागरिकको किन जनगणना गरिएन ? यसमा आम नागरिककाे सरकारमाथि शंका उब्जिएको छ ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका बेला ईपीजीकाे विषय नउठाइएकाे आपत्ति जनाउँदै सांसद् शर्माले भन्नुभयाे - 'ईपीजी प्रतिवेदन नेपालका प्रधामन्त्री विदेश भ्रमण जाँदा प्रधानमन्त्रीकै तहबाट गरेको निर्णय बेवारिसे हुन्छन् भने राज्यका विश्वसनीयता हामीले कहाँनेर खोज्ने ?'
भारतकाे नयाँ संसद् भवनमा राखिएकाे नक्सामा नेपाली भूमि समेटिएको विषयमा सरकार नबाेलेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । तत्काल त्याे नक्सा खारेज गर्न भारतलाई आग्रह गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
