काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
बजेट पुस्तकमा काेशी प्रदेश र लुम्बिनी प्रदेशकाे नाम नराखिएकाे भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विराेध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे हाे ।
मंगलबार प्रतिनिधि सभा बैठक जारी रहेकै एमाले सांसद् सूर्य थापाले नियमापत्ति जनाउनुभयाे । त्यसपछि सभामुख घिमिरेले सांसद् थापालाई बाेल्न दिनुभयाे । थापाले बजेट पुस्तकमा काेशी प्रदेश र लुम्बिनी प्रदेशकाे नाम नराखिएकाे विषयमा आफ्नाे नियमापत्ति रहेकाे जनाउनुभयाे ।
यसअघि काेशीकाे सट्टा प्रदेश-१ लेखिएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे बजेट किताब सच्याउन सभामुखबाट रुलिङ भएकाे र सच्याइएकाे पुस्तकमा नामै नरहेकाे उहाँले बताउनुभयाे । शहरी विकास मन्त्रालयकाे बजेट किताबमा ५० ठाउँमा लुम्बिनी हुनुपर्नेमा प्रदेश-५ लेखिएकाे भन्दै सांसद् थापाले नाम बाहेक अंकलाई संविधानले नचिन्ने बताउनुभयाे । तथाकथित पहिचानवादीको प्रभावमा काेशी नाम हटाएको त हाेइन भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
त्यसपछि सभामुख घिमिरले शहरी विकास मन्त्री सिता गुरूङलाई बाेल्न समय दिनुभयाे । मन्त्री गुरुङले त्यसमा त्रुटि भएको भए सच्याइने भन्दै मन्त्रालयकाे छलफल अघि बढाउन अनुराेध गर्नुभयाे । त्यसमाथि सभामुख घिमिरेले मन्त्रीबाट गल्ती सच्याउने प्रतिबद्धता आएकाे भन्दै कार्यसूची अगाडि बढाउन रूलिङ गर्नुभयाे ।
तर सूर्य थापासहित एमालेका अरु सांसद् ठाकुर गैरे, छविलाल विश्वकर्मा पनि उठेर विराेध जनाउनुभयाे । सभामुखले सांसद् थापालई फेरि बाेल्न समय दिनुभयाे । थापाले मन्त्रीले गल्ती भएकाे विषयलाई गल्ती भएकाे भए भन्ने हलुका अभिव्यक्ति दिएकाेमा आपत्ति जनाउनुभयाे । अंककाे ठाउँमा प्रदेश राखेर नसच्याइएसम्म कार्यसूची अगाडि बढ्न नसक्ने थापाले प्रष्ट पार्नुभयाे ।
थापाले बाेल्दै गर्दा एमाले सांसद् छविलाल विश्वकर्माले बाेल्न समय माग्नुभयाे । संविधान विपरित याे कार्यसूची अगाडि बढाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दै उहाँले याे नसच्याइएसम्म कार्यसूची शहरी विकास मन्त्रालयकाे बजेट शीर्षकमा छलफल हुनै नसक्ने बताउनुभयाे ।
त्यही बीचमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समय मागेर बाेल्नुभयाे । लेखकले सरकारबाट गल्ती भएकाे र यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे । प्रतिपक्षी सांसद्ले सही विषय उठाएपनि सभामुखले रुलिङ गरिसकेकाे अवस्थामा त्याे मानेर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
त्यसपछि पनि एमाले सांसद्हरुले उठेरै विराेध जनाइरहे । एमाले सांसद् रघुजी पन्तले सभामुखसँग समय लिएर बाेल्नुभयाे । उहाँले सभामुखकाे रुलिङमा एकरुपता हुनुपर्ने भन्दै उहाँले काेशीकाे विषयमा नाम सच्याएर बजेट किताब आएपछि मात्र छलफल हुन्छ भनेर रुलिङ गर्ने अनि लुम्बिनीकाे विषयमा सच्याउने प्रतिबद्धता मन्त्रीबाट आएकाले कार्यसूची अगाडि बढाऔं भन्न नमिल्ने प्रष्ट पार्नुभयाे । सांसद् पन्तले यसरी छलफल हुन नसक्ने भएकाले शहरी विकास मन्त्रालयसम्बन्धी कार्यसूची हटाउन मा गर्नुभयाे ।
एमाले सांसद्हरु यस विषयमा टसमस नभएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
