काठमाडाैं । असार २ गते यता बाढी र पहिरोमा परेर १० जनाकाे ज्यान गएकाे छ ।
देशका पूर्वी पहाडी जिल्लामा अविरल वर्षापछि आएकाे बाढी र पहिराेमा परेर आजसम्म १० जनाकाे ज्यान गएकाे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभालाई जानकारी गराउनुभयाे ।
असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म १० जनाको ज्यान जानुका साथै ६ जना घाइते भएका र २६ जना बेपत्ता भएको उहाँले जानकारी दिनुभयो । बाढी पहिराेले संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायत पूर्वी पहाडी जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे । ।
उहाँका अनुसार बाढी-पहिरोका कारण ५४ घर पूर्ण रुपमा क्षति भएको छ । विपद्को घटनापछि प्रभावित क्षेत्रमा राहत र उद्दारका साथै बेपत्ताको खोजी कार्य तीव्र बनाइएकाे मन्त्री श्रेष्ठले बताउनुभयो । अवरुद्ध सडक खुलाउनका लागि बेलिव्रिज निर्माण गर्ने कार्यलाई पनि अघि बढाइएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिइने घाेषणा पनि गर्नुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूसहितकाे टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा गएको र मौसमका कारण संखुवासभाकाे तुम्लिङटार बाहेक अन्यत्र जान नसकिएको उहाँले जानकारी दिनुभयो ।
