काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथिति र विभेद देखेर आफूलाई लज्जाबोध भएको बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद् ढकालले सचिवालयका कर्मचारीलाई खाजा भत्ता दिँदा १२ घण्टा खटिने मर्यादापालकहरुलाई विभेद गरिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
संघीय संसद भवनभित्र आफ्नो आँखा अगाडि भईरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने उहाँले बताउनुभयाे । सांसद् ढकालले भन्नुभयाे - 'यहीँभित्र संसद् सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ, मर्यादापालक दाजुभाई-दिदीबहिनीहरु १२ घण्टासम्म यहाँ ड्यूटी गर्नुहुन्छ, उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन्, यो विभेद, यहीँभित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ, म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'
संघीय संसद् सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाे विषयमा पनि उहाँले ध्यानाकर्षण गराउनुभयाे । सांसद् ढकालले भन्नुभयाे - 'बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ, यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु, सहरी विकास मन्त्रालयबाट बजेट चुहिने छानो टाल्नलाई बजेट आउँदो रहेछ, यो वर्ष पनि चुहिन्छ, यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ, पानी आउँदैन, भुक्तानी भएछ ।'
