काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा सभामुख घिमिरेले सभामुख घिमिरेले शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा भएका त्रुटी सच्याउन रुलिङ गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयाे - 'हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं, सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरु खासगरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा, सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ, साथै त्यस्ता कुनै त्रुटीहरु भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु ।'
सभामुख घिमिरेले आजकाे कार्यसूचीमा रहेकाे शहरी विकास मन्त्रालयकाे बजेट पुस्तिकामा अंककाे सट्टा नाम राखि आवश्यकता अनुसार सुधार गर्न पनि निर्देशन दिनुभयाे । उहाँले भन्नुभयाे - 'आजकाे कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालयअन्तर्गत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमहरुको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिबद्धता समेत व्यक्त गरिसक्नु भएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।'
यसअघि आजै बसेकाे पहिलाे बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्ले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढन नदिने बताएका थिए । उनीहरुले काेशीकाे सट्टा प्रदेश-१ लेखिएकाे पर्यटन मन्त्रालयकाे पुस्तिका सच्चिएर ल्याएकाे भनिएकाेमा त्यसमा प्रदेश नै हटाइएकाे भन्दै त्याे पनि सच्याउन माग गरेका थिए । साेही विषयलाई लिएर सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे छ ।
