काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नारा बेच्ने भन्दा पनि काम गर्नु पर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले देश र जनताले नारा नभएर काम खोजेका बताउनुभयो । ‘सत्ताको निम्ति मात्र होइन विकासको निम्ति पनि हामी जान्छौँ भन्ने कुरा देखिनु पर्छ’, बास्कोटाले भन्नुभयो ।
अघिल्लो सरकारले सुरु गरेको सहरी विकासको कार्यक्रम अहिलेको सरकारले कटाएको भन्दै बास्कोटाले आलोचना गर्नुभयो । एमालेले सुरु गरेका काम कहिले सम्पन्न हुन्छन् भनेर अहिलेको गठबन्धन भन्नै नसक्ने अवस्थामा पुगेको बास्कोटाले बताउनुभयो ।
सरकारले नयाँ कुरा गर्ने होइन भइआएको कुरा पनि स्विकार्न नसकेको बास्कोटाले टिप्पणी गर्नुभयो । सकारसँग कुनै दृष्टिकोण, लक्ष र उद्देश्य नभएको उहाँले बताउनुभयो । सरकारले पूर्वाग्रह राखेर बजेट विनियोजन गरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
हुँदै नभएको वडामा बजेट विनियोजन गरेको बताउँदै बास्कोटाले चुरोटको खोलमा टिपेर दिएको ठाउँमा बजेट हाल्दा यस्तै अवस्था आउने उहाँले बताउनुभयो । ‘यो आँखै खाने चस्मा तिमलाई कसले किन्दियो, तिरमिरायो हेर्यो, राज्यले हिजो लगानी गरेको छ, अब जुवा खेल्ने हो, के गेमलर हो सरकार ?’, उहाँले व्यङ्ग्य गर्नुभयो ।
विगतमा संसदमा ब्रिफकेस फुटाएको देखेको बताउँदै आफूहरू पनि विरोधमा उत्रिन नपरोस् भन्दै बास्कोटाले चेतावनी दिनुभयो । ‘म चेतावनीको भाषामा तर विनम्रतापुर्व भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिन नपरोस्’, उहाँले भन्नुभयो ।
विकास जनताको अधिकारको प्रश्न भएको उहाँले बताउनुभयो । यसरी विभेद गर्नेले अर्को पटक जनताबाट राम धुलाइ पाउने बास्कोटाले बताउनुभयो ।
