काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुरप्रसाद गैरेले सरकारले बजेटमा भेदभाव गरेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा 'विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक कायम गरियोस्' भनी प्रस्ताव पेस गर्दै सांसद् गैरेले सरकारले ल्याएकाे बजेट इतिहासकै असन्तुलित र विभेदकारी रहेकाे बताउनुभयाे ।
कुनै जिल्लामा बजेटै बजेट भएकाे र कुनै जिल्लामा शून्य बजेट विनियाेजन गरिएकाे भन्दै उहाँले उस्तै प्रकृतिका याेजनामा काेही ठाउँ कराेडाैं र काेही ठाउँमा लाख रुपैयाँ मात्र विनियाेजन गरिएकाे बताउनुभयाे ।
सांसद् गैरेले भन्नुभयाे - 'बजेट विनियाेजनमा यति धेरै असन्तुलन, आजसम्म सम्भवत कहिल्यै पनि भएकाे थिएन, यत्राे किताब छापिँदा कतिपय जिल्ला बजेटबिहीन, याे तहकाे असन्तुलन विणम्बनापूर्ण भयाे, कुनै ठाउँमा त्यही स्तरकाे याेजनामा ५०औं लाख, ५ कराेडऽ ३० कुनै ठाउँमा १ लाख, संघीय सरकारले १ लाखकाे बजेट बनाएर हिँड्ने कुरा कति उचित हाे ?'
पानीकाे मूल संरक्षण गर्ने याेजना, खानेपानी कार्यालयहरुका लागि जनशक्ति विस्तार गर्ने याेजना बजेटमा नरहेकाे र कराेडाैंका याेजनामा ५-१० लाख मात्र छुट्याउने काम सरकारले गरेकाे सांसद् गैरेले बताउनुभयाे । खानेपानीजस्ताे संवेदनशील विषयमा सरकारले हचुवाका भरमा बजेट विनियाेजन भएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'पाल्पा जिल्लाप्रति याे सरकारकाे बक्रदृष्टि के हाे ? खानेपानीकाे कुनै पनि याेजनामा पैसा छैन ।'
सांसद् गैरेले सरकारले नागरिकको स्वस्थ खानेपानीको हक प्रत्याभूति गर्नका लागि त्यस्ता आयोजनामा पर्याप्त बजेट नछुट्याइएको बताउनुभयो । पानीको मुहान संरक्षण गर्ने, भूमिगत पानीलाई संरक्षण गर्ने, लिफ्टिङ आयोजनामा बिजुलीको महसुल न्यून गर्ने लगायत योजनामा खानेपानी मन्त्रालय अन्तर्गतको बजेट जान नसकेको उहाँले बताउनुभयाे ।
सरकारले नागरिकको स्वस्थ खानेपानीको हक प्रत्याभूति गर्नका लागि महत्वपूर्ण आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न नसकेको सांसद् गैरेले बताउनुभयो । उहाँले खानेपानीका नाममा उपत्यकामा बढी बजेट प्रदान गरिने र अन्य जिल्लामा पर्याप्त बजेट नहुने देखिएको बताउनुभयाे ।
निर्वाचन क्षेत्रकाे मात्र नभइ सबै क्षेत्रकाे मन्त्री भइदिन पनि सांसद् गैरेले सरकारका मन्त्रीहरुलाई सुझाव दिनुभयाे ।
