काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित गरिएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे पहिलाे बैठकले सवारी दुर्घटनामा परी निधन हुनुभएका मन्त्री सिंहकाे निधनमा शाेक प्रस्ताव पारित गरेकाे हाे । शाेक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे ।
प्रतिनिधि सभा बैठक अघि आजै बसेकाे प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन भएमा संघका सांसद्सरह सम्मान प्रकट गर्ने निर्णय गरेकाे थियाे । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला सांसद् सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय परामर्श समितिकाे बैठकले गरेकाे थियाे ।
साेही निर्णय अनुसार सिंहकाे निधनमा शाेक प्रस्ताव पारित गरिएकाे हाे ।
स्व. सिंह मंसिर ४ गते सम्पन्न चुनाव बझाङ-१ बाट नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।दुर्घटनामा उहाँकी पत्नी र भाउजूको पनि निधन भएको थियो ।
