काठमाडाैं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले नागरिकतासम्बन्धी समस्या चाँडाे भन्दा चाँडाे समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद् सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकमाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाउनुभयाे । कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताबिहीन हुनुपरेको उहाँले बताउनुभयाे ।
नागरिकता नपाएकाहरु केहीदिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका र संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुपरेकाे अवस्था रहेकाे सांसद् सिंहले बताउनुभयाे । 'एकातिर २०७२ मा संविधान जारी भयो, तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन्, जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने त्यो पनि सरकारले गर्न सकिरहेको छैन, हिजो नै उनीहरुसँग जुन व्यवहार भएको छ त्यसको भत्सर्ना गर्न चाहन्छु, किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस्, सरकारसँग माग गर्न चाहन्छु'- उहाँले भन्नुभयाे ।
नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा अदालतले पनि तदारुकता नदेखाएकाे भन्दै सांसद् सिंहले अदालतले राजनीति गर्न नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'अदालतकाे ध्यान आकृष्ट गर्न चाहान्छाैं, रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने ?, अदालतले जुन राजनीति गरिरहेकाे छ त्यस्ताे नहाेस् ।'
