काठमाडाैं । नेकपा एमालेका सांसद् सूर्यप्रसाद ढकालले नेपाललाई विश्वमा चिनाउने खेलकुद क्षेत्रमा कम बजेट छुट्याउनु दु:खद रहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयक, २०८० अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयकाे खर्च कटाैतीकाे प्रस्ताव पेस गर्दै सांसद् ढकालले बजेटमा भएकाे नीतिगत विभेदका कारण आम नागरिकमा निराशा छाएकाे बताउनुभयाे ।
खेलकुदका माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्न र नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि आफूले खर्च कटाैतीकाे प्रस्ताव पेस गरेकाे उहाँले बताउनुभयाे । ढकालले भन्नुभयाे - 'व्यक्ति, समाज र राष्ट्रलाई अनुशासित राख्न खेलकुद, व्यक्तिलाई स्वस्थ राख्न खेलकुद, राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खेलकुद, पर्यटनकाे विकासमा याेगदान गर्न खेलकुद र जनसंख्याकाे ३८ प्रतिशत युवाहरुकाे पक्षमा काम गर्ने मन्त्रालयमा ०८०-८१ का लागि कुल बजेटकाे ० दलमलव १६ प्रतिशत बजेट छुट्याएकाे छ, याे आफैंमा लज्जाकाे विषय हाे ।'
मन्त्रालय मातहतमा कति भाैतिक संरचना र जमिन कति छ भन्ने कुराकाे रेकर्ड नभएकाे भन्दै सांसद् ढकालले सरकारकाे बजेट हेर्दा खेलकुदलाई रामभराेसामा छाडेकाे देखिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'अन्तर्राष्ट्रिय प्रतियाेगितामा सहभागिता हुँदा नेपाली टाेलीले जिताेस् भन्ने अपेक्षा राखेर मात्र सफलता पाइँदैन, त्यसका लागि तयारीमा पर्याप्त लगानी गर्नुपर्छ ।'
सरकारले खेलकुदका पूर्वाधारसँगै दक्ष प्रशिक्षक तयार पार्न र खेलाडी उत्पादन गर्न बजेट छुट्याउनुपर्ने सांसद् ढकालले बताउनुभयाे । निजी क्षेत्रलाई पनि खेलकुदमा लगानी नीतिगत पहल गर्न आवश्यक रहेकाे भन्दै उहाँले निजी क्षेत्रलाई सरकारले केही सहुलियत दिने हाे भने खेलकुदमा लगानी बढ्ने सम्भावना रहेकाे बताउनुभयाे । सांसद् ढकालले खेलकुदमा लगानी गर्ने वातावरण बनाउनुपर्ने आजकाे आवश्यकता रहेकाे बताउनुभयाे ।
खेलकुदमा लागेकालाई खेलबाट खान पुग्ने वातावरण बनाउनुपर्ने र खेलकुदलाई उद्याेगका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयाे । खेलकुदलाई मनाेरञ्जनका लागि मात्र नभएर व्यवसायिक र उत्पादनसँग जाेड्नुपर्ने सांसद् ढकालले बताउनुभयाे । युवासँग सम्बन्धित कार्यक्रमलाई यसै मन्त्रालय मातहतबाट सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयाे ।
बजेटमा नीतिगत विभेद भएकाे सांसद् ढकालले बताउनुभयाे । नेपाल ओलम्पिक कमिटी, नेपाल क्रिकेट संघ, अखिल नेपाल फुटबल संघ एन्फा आफैंमा समृद्ध संस्था भएपनि यिनमा धेरै बजेट छुट्याइएकाे भन्दै उहाँले स्थापित गर्नुपर्ने मार्सल आर्ट, भलिबल, बक्सिङ र एथ्लेटिक्समा कम बजेट छुट्याइएकाे बताउनुभयाे ।
काेहलपुरमा खेलकुद विश्वविद्यालय बनाउन पनि सांसद् ढकालले माग गर्नुभयाे । केपी शर्मा ओली नेतृत्वकाे सरकारले पारवहन सम्झाैता गर्ने, चुच्चे नक्सा जारी गर्ने, नाकाबन्दी असफल पार्ने सरकारकाे पहिचान बनाएकाे भन्दै उहाँले अहिलेकाे सरकारले अरु नसकेपनि खेलकुदमा सम्झनलायक काम गर्नुपर्ने बताउनुभयाे ।
सरकारले नागरिकता समस्या समाधान गर्नुकाे सट्टा भाेटकाे राजनीति गरिरहेकाे सांसद् ढकालले बताउनुभयाे ।
