काठमाडाैं । नेकपा एमालेकी सांसद् जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँ माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे दोस्रो बैठकको शुन्य समयमा बोल्दै सांसद् महताेले राेपाइँ र शैक्षिक शत्र सुरु हुँदा पनि सरकारले किसानलाई मल र विद्यार्थीलाई पुस्तक दिन नसकेकाे बताउनुभयाे ।
सरकार कहाँ छ भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'नयाँ शैक्षिक सत्र सुरु भयो विद्यार्थीलाई पुस्तक छैन, किसानको रोपाइँ सुरु भयो मल छैन, महंगीले ढाड सेक्यो नागरिकलाई बाँच्ने आधार छैन, हत्या-हिंसाले त्रास बढाएको छ न्याय पाउने आश छैन, रोजगारीका लागि विदेश जानुपर्ने अवस्था छ राज्यले नसोच्ने, सरकार कहाँ छ ? यी विषय तत्काल सम्बाेधन गराेस् ।'
लम्पी स्किन राेगले हजाराैं गाई-भैंसी मरेका र किसानहरु पीडित भएकाे भन्दै सांसद् महताे नियन्त्रणका लागि तत्काल काम गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
