काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. चन्द्र भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलमा बाेल्दै सांसद् भण्डारीले देशकाे पहिचान राख्ने खेलका लागि तत्काल बजेटकाे व्यवस्था गर्न सरकारसँग माग गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'विश्व खेलकुद, संगीत र माउण्टेनमा गइसकेकाे छ, एउटा बल हातले हान्याे भने एक कराेड बढी पाउने रहेछ, एउटा गाेल खुट्टाले हान्याे भने कराेडाैं कमाउँदाे रहेछ, एउटा गीत राम्ररी गायाे भने अरबाैं कमाउँदाे रहेछ, त्याे ठाउँ हाे नि त हाम्राे, क्रिकेट ग्राउण्ड त बनाइदिऔं, कति वर्षसम्म एउटा ग्राउण्ड बनाउँदैछौं भन्छौं एकैचोटी बनाइदिऔं न, बजेट छुट्टयाइदिऔं न तिनका लागि, जसले तिमीलाई पहिचान दिएको छ ।'
खेल मैदान नभएकाे, खेलाडीलाई सुविधान नभएकाे देशका खेलाडीले आईसीसी विश्वकप छनाेट क्रिकेटमा अमेरिका विरुद्ध जितेर नेपालकाे पहिचानलाई बढाएका भन्दै उहाँले खेलाडीलाई बधाई दिनुभयाे । पाठ्यक्रममा खेलाडीकाे बारेमा राख्न पनि उहाँले माग गर्नुभयाे ।
माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउने हाे भने संसारका मानिस यहाँ आउने भन्दै सांसद् भण्डारीले लुम्बिनीमा बच्चा जन्माउने ठूलो हस्पिटल बनाउनुपर्ने बताउनुभयाे । 'लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस्, बच्चा जन्माउने ठूलो हस्पिटल बनाइदिनुस् हजारौं बेडको, संसारभरका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन्, के छैन नेपालमा ? कहाँ छ हामो सोच ? कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समयअनुसार चल्न सकेनौं कि समय बुझेनौं कि ?'- उहाँकाे प्रश्न छ ।
म माननीय हूँ भनेर गर्व गर्ने ठाउँ नै नभएकाे उहाँले बताउनुभयाे । देशमा चामल र औषधि सडिरहेकाे भन्दै सांसद् भण्डारीले कसले हेर्ने हाे भन्ने प्रश्न गर्नुभयाे । नेपालमा सबै चिज भएकाे भन्दै उहाँले त्यसलाई सदुपयाेग गर्नुपर्ने बताउनुभयाे । धनि बन्ने नाममा काेदाे, फापरलाई विस्थापित गरेर चामल भित्र्याइएकाे बताउनुभयाे । आफ्ना माैलिका खाद्यान्न र परम्परालाई जाेगाउनुपर्ने बताउनुभयाे ।
शिक्षामा नैतिकता हराएकाे भन्दै उहाँले नेपालका विश्वविद्यालयहरुलाई अनुसन्धानमूलक बनाउनुपर्ने बताउनुभयाे । सांसद् भण्डारीले खेलकुद विश्वविद्यालय र माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताउनुभयाे । विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले शिक्षामा कुनै परिवर्तन गर्न नसक्ने सांसद् भण्डारीले बताउनुभयाे । मुलुकका विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउनुपर्ने भएपनि राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तिका कारण विश्वविद्यालयमा कुनै सुधार हुन नसकेको उहाँले बताउनुभयो । कति अस्पताल खोल्ने ? खोल्न दिने की नदिने ? भन्नेमा नै अल्झेर बस्न नहुने भन्दै सांसद् भण्डारीले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जग्गा बेचेर आफ्ना छोराछोरीलाई पढाउन बाहिर पठाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने पनि बताउनुभयाे ।
देशकाे आवश्यकता के हाे ? पहिचान के हाे ? र विश्वमा कसरी प्रतिष्पर्धा भन्ने कुरा हाम्राे शिक्षामा नरहेकाे सांसद् भण्डारीले बताउनुभयाे । अहिलेकाे चिन्तन, साेच र व्यक्तिहरुबाट मुलुक बन्न नसक्ने भए ३२ वर्षसम्म बनिसकेकाे हुने उहाँले बताउनुभयाे ।
