काठमाडाैं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपंक्षी विकास, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले दुनियाँलाई पाल्ने अन्नदातालाई सम्मान गर्नुपर्ने बताउनुभयाे ।
साच्चिकै किसानलाई सम्मान गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'यदि हामी कृषककाे सम्मा बढाउन चाहान्छाैं भने, कृषि र कृषककाे सम्मान बढाउन चाहान्छाैं, अन्नदातालाई सम्मान गर्न चान्छाैं भने कृषकलाई पेन्सनको व्यवस्था गरौं, लुटने स्थायी सरकारलाई होइन, जति ठूलो पोष्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन, स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? दुनियाँका लागि खुन पसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि ? चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो ?'
सरकारलाई पेन्सन दिने आँट गर्न सरकारलाई सुझाव दिँदै अध्यक्ष साहले किसानले आन्दाेलन गर्ने अवस्था नआओस् भन्ने चेतावनी दिनुभयाे । विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको भन्दै उहाँले कृषि क्षेत्रतर्फ गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
देशमा कृषि लगायत विषयमा प्राविधिक विद्यालय आवश्यक रहेकाे अध्यक्ष साहले बताउनुभयाे ।
