काठमाडाैं । राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्व तयारीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति-परिवारको पुर्नस्थापना र पुर्ननिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकले पूर्वी पहाडमा बाढीपहिरोले पुर्याएको क्षति आँकलन गरी राहत, पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।
बैठकले यसअघि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको सञ्चालन एवं व्यवस्थापन गर्न बसेको समितिको बैठकले गृह मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयनका लागि पुन: निर्देशन दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन अवधिभरका लागि उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको जानकारी दिनुभयो । उहाँले विपद्का घटनामा तत्काल उद्धार कार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्ट समेत गठन गरिएको बताउनुभयो ।
विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ ठाउँमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको र ५ वटा मेसिन जडानसहित २७ ढुंगाको व्यवस्थापन गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे ।
खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको उहाँले बताउनुभयो ।
जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको ज्यान गएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
