काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन अवधिका लागि उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेकाे राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिकाे बैठकमा गृहमन्त्री श्रेष्ठले विपद्का घटनामा तत्काल उद्धार कार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेकाे बताउनुभयाे ।
कमाण्ड पोष्ट समेत गठन गरिएको भन्दै उहाँले त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको जानकारी दिनुभयाे । विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ ठाउँमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको मन्त्री श्रेष्ठले बताउनुभयाे ।
उहाँका अनुसार ५ वटा मेसिन जडानसहित २७ ढुंगाको व्यवस्थापन गरिएको छ । खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको ज्यान गएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
