काठमाडाैं । मनसुनसँगैगै बाढी-पहिरोको प्रकोप बढ्दै गएको अवस्थामा पूर्व तयारी गर्न र बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसदहरु रामहरि खतिवडा, हितराज पाण्डे, राजेन्द्र बजगाईं र एकनाथ ढकालले विपद् ती विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले सडक निर्माणका नाममा जथाभावी सडक खन्ने कामले पहिरोको जाने क्रम बढ्दै गएको भन्दै सरकारले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । ओखलढुंगामा बिहीबार राति गएको पहिरोका कारण केहीको ज्यान गएको र केही बेपत्ता भएको भन्दै उहाँले तत्काल राहत उद्धार र पुर्नस्थापनामा ध्यान दिन आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गोरखामा भएको जीप दुर्घटनामा ५ जनाकाे ज्यान गएकाे र १२ जना घाइते भएको जानकारी दिनुभयाे । दुर्घटना हरेक दिन हुन थालेकाले दुर्घटना रोक्नका लागि सरकारको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । पहाडी जिल्लाहरुमा धेरै यात्रुहरु गाडीमा रहेका कारण पनि दुर्घटना हुने गरेकाले सरकारले ध्यान दिनुपर्ने सांसद् पाण्डेले बताउनुभयो ।
सांसद् राजेन्द्र बजगाईले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने गरेको भन्दै सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका सांसद् एकनाथ ढकालले गाेरखामा ५ जनाकाे ज्यान जानेगरी भएकाे दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभयाे । उहाँले सवारी दुर्घटना अत्यधिक हुने गरेकाे भन्दै उहाँले यसमा गम्भीर हुन सरकारसँग माग गर्नुभयाे । दुर्घटनामा पर्नेहरुकाे स्वास्थ्य बीमा गर्न र घाइतेहरुकाे निशुल्क उपचार गर्न पनि सांसद् ढकालले बताउनुभयाे ।
माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको विषयमा यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने र उनीहरुको माग सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । राज्यसँग भएका सहमति कागजमा सुक्न नहुने उहाँले बताउनुभयाे । सार्वजनिक विद्यालयलाई सुधार गर्ने अभियानमा लाग्न सांसद् पाैडेलले सरकारसँग माग गर्नुभयाे ।
