काठामाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष रासायनिक मल अभाव नहुने दाबी गर्नुभएकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस वर्ष धान राेपाइँका बेला रासायनिक मल अभाव नहुने दाबी गर्नुभयाे ।
प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा जनमत पार्टीका सांसद् अब्दुल खानले मलको विषयमा उठाएको प्रश्नको जवाफ दिँदै उहाँले विगतका वर्ष भन्दा यस वर्ष रासायनिक मलको आपूर्ति सुदृढ भएकाले मल अभाव नहुने दाबी गर्नुभयाे । 'रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु, ०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ, त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री ढिपोहरूमा मौज्दात छ'-प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डीएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको उहाँले दाबी गर्नुभयाे ।
