काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो नभएकाे दाबी गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा आवश्यक बजेट विनियाेजन गरिएकाे बताउनुभयाे ।
सांसद् अजयकुमार चौरासियाले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत बढी रकम मधेश प्रदेशमा जाने गरेको बताउनुभयाे । 'मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन, संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत बढी रकम मधेश प्रदेशमा नै जाने गरेको छ, यसका अतिरिक्त संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग, पतलैया-वीरगञ्ज कोरिडोर, चन्द्रपुर-गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइर्भसन, वाग्मती कमला चन्द्र नहर लगायत सिचाईं आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरेर नै अगाडि बढेका छन्'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
तराई मधेश समृद्धि कार्यक्रम र तराई जोड्ने द्रुत मार्गहरू पनि मधेशमा नै पर्ने र तीनका लागि यथेष्ट बजेट विनियोजन गरिएको उहाँले बताउनुभयाे । पर्साको वीरगञ्जको विकास सरकारको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नारायणी रंगशाला, नारायणी अस्पताल, ठाकुरबाबा बहुमुखी क्याम्पस लगायतका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।
