काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक खपत भएर बचेको विद्युत् मात्रै भारतलाई निर्यात गर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् अनिशा नेपालीले साेधेकाे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी भएको बताउनुभयाे ।
आफ्नाे भारत भ्रमणका बेला नेपालकाे जलविद्युत विकासका लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सम्बन्धमा महत्वपूर्ण काम भएका उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'भारतसँगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भ्रमणकै दाैरानमा भइसकेको छ, सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुने विश्वास छ, देशमा हाल वर्षायाममा विद्युत उत्पादन क्षमता २८ सय मेगावाट छ, अधिकतम खपत करिब १९ सय मेगावाट पिक डिमाण्ड रहेको छ, आन्तरिक खपतभन्दा बढी भएको उर्जा खेर जान नदिनेगरी छिमेकी भारतमा विद्युत निर्यात भइरहेको छ, यसबाट देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत महत्वपूर्ण योगदान पुगिरहेको छ' -उहाँले भन्नुभयाे ।
देशभित्र नै अधितकत आन्तरिक विद्युत खपत गर्न सरकारले उर्जा खपत सम्बन्धी कार्ययोजना ल्याइसकेको र साेही अनुसार काम अगाडि बढिरहेकाे उहाँले बताउनुभयाे । देशमा जलविद्युत उत्पादनको व्यापक सम्भावना रहेको भन्दै उहाँले देशले समृद्धि हासिल गर्नका लागि उर्जा व्यापार नै महत्वपूर्ण स्रोतको रुपमा रहेको पुष्टि भइसकेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
अहिले पनि नेपालमा खपत भएर बचेको विद्युत् भारतमा निर्यात भइरहेको उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत्लाई निर्यात गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सरकारले लिएको छ, र देशको आन्तरिक खपतलाई हेरेर सरकारले अल्पकालिन, मध्यकालीन र दीर्घकालीन रूपमा खरिद सम्झौता गरिनेछ, हाल नेपाल सरकार एवं निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरूबाट समेत उत्पादन हुने विद्युत्मध्ये आन्तरिक खपत भएर बाँकी रहने विद्युत् मात्रै निर्यात गर्ने नीति नेपाल सरकारको रहेको कुरा स्पष्ट गर्न चाहान्छु ।'
प्रचलित कानुनको परिधिभित्र रही विद्युत् व्यापार सम्झौता हुने भन्दै उहाँले यसका लागि तयारी भइरहेकाे बताउनुभयाे ।
