काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष गरेकाे सिफारिस फिर्ता लिन सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् सुवालले विवादास्पद र राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले गरेकाे सिफारिस फिर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराउनुभयाे ।
उहाँले साे निर्णय फिर्ता लिएर सदनमा छलफलका लागि ल्याउन माग गर्नुभयाे । 'अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसद्लाई छलेर मन्त्रिपरिषद्बाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन, प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरूरी छ र संसद्मा नागरिकता विधेयक ल्याउन जरूरी छ'- सांसद् सुवालले भन्नुभयाे ।
वंशजका आधारमा नेपाली नागरिकता पाउन आमा र बुवा दुवै वंशजका आधारमा नेपाली नागरिक हुनुपर्ने कानुनी व्यवस्था जरुरी रहेकाे उहाँले बताउनुभयाे । गैर आवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरू भएकाे भन्दै सांसद् सुवालले नेपालको भूराजनीति अनुसार गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई उपयुक्त नभएकाे बताउनुभयाे ।
नेपालमा स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन नसकेकाे भन्दै उहाँले यसतर्फ ध्यान दिएर मात्रै विदेशमा रहेका नेपालीलाई मतदानमा भाग लिने अधिकार दिनुपर्ने बताउनुभयाे ।
सांसद् सुवालले अतिरिक्त हुलाकका कर्मचारी र विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
